काठमाडौँ । गृहसचिव गोकर्णमणि दुवाडीले मन्त्रालयका योजना, कार्यक्रम र कार्यसम्पादनलाई नतिजामुखी र जनउत्तरदायी बनाउनु पर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुखहरूको सामूहिक भेलालाई सम्बोधन गर्दै उनले मन्त्रालयलाई समय सापेक्ष, योजनाबद्ध र परिणाममुखी बनाउने कार्यान्वयनको खाका प्रस्तुत गर्दै जिम्मेवारीपूर्वक ढंगले अघि बढ्न भनेका हुन् ।
कार्यसम्पादनलाई प्रभावकारी बनाउन जिम्मेवारीका विषयलाई समय र आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताउँदै गृहसचिव दुवाडीले भने-“कतिपय काम तत्काल गर्नुपर्ने हुन्छ, विशेष गरी संवेदनशील विषयहरूलाई पहिलो प्राथमिकतामा राखेर तिनलाई समयमै टुङ्ग्याउनु पर्छ,”
उनले गृह प्रशासनले सेवा प्रवाहलाई व्यवस्थित बनाउन यस किसिमको प्राथमिकता निर्धारण अत्यावश्यक भएको र यसले समग्र प्रशासनिक प्रणालीलाई सुधार्नेसमेत जिकिर गरे ।
१०० दिनको कार्ययोजनाः मन्त्रिपरिषद् र एसएमटीका निर्णय कार्यान्वयन
गृहसचिव दुवाडीले १०० दिनको कार्य योजनालाई मन्त्रालयका प्राथमिक योजना र कार्यक्रमसँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मन्त्रिपरिषद्का निर्णय, एसएमटीका निर्णय र नियमनकारी निकायहरूले दिएका निर्देशनलाई प्रचलित कानुनको परिधिभित्र रहेर तुरुन्तै कार्यान्वयन गरिनुपर्ने उनले स्पष्ट पारे ।
“निर्णय कार्यान्वयन पछि त्यसको प्रगति र परिणाम नियमित प्रतिवेदन मार्फत माथिल्लो निकायलाई जानकारी गराउनु पर्छ,” उनले भने। यस प्रकारको पद्धतिले योजना र निर्णय कार्यान्वयनमा अनुशासन र समयबद्धता सुनिश्चित गर्न सहयोग पुग्ने उनले बताए ।
योजना, नीति र कार्यक्रम: माइल स्टोनमा परिणत गर्ने आवश्यकता
दुवाडीले यो वर्षका रणनीतिक, आवधिक र वार्षिक योजनाहरूलाई नतिजामुखी बनाउने गरी माइल स्टोनमा परिणत गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “हामीले यस वर्षका लागि तोकिएका योजनाहरूलाई विश्लेषण गरी नतिजामा केन्द्रित भएर काम गर्नुपर्छ”
त्यसका लागि बजेट, जनशक्ति र स्रोतसाधनको उपलब्धता हेरी कार्य योजना बनाउनुपर्ने उनले सुझाव दिए । “गतिविधिहरूलाई वर्गीकरण गर्दै तिनलाई नो कष्ट, लो कष्ट र हाइ कष्टका आधारमा कार्यान्वयन गर्ने योजना बनाउनु पर्छ,” उनले भने ।
सो क्रममा स्रोतसाधनको समुचित प्रयोग र परिचालनका उपायहरूमाथि पनि प्रस्ट पारे । “डिफाइन गरिएका गतिविधिहरूलाई नो कष्टमा गर्न सकिने भए तुरुन्तै सम्पन्न गरिहाल्नुहोस्, लो कष्टमा गर्न सकिने गतिविधिहरूलाई पनि कार्यान्वयनमा ल्याउनुहोस् तर, स्रोत अभावका कारण कतिपय काम सम्पन्न गर्न कठिन भए, अन्यतिर छ भने त्यताबाट व्यवस्थापन गरेर परिचालन गर्न भने ।
उनले यति गर्दा पनि भएन भने प्रक्रियामा राखेर स्रोत अभाव भएका कामहरूलाई भविष्यका बजेट र नीति कार्यक्रममा समावेश गर्न निर्देशन दिए ।
समन्वयमा स्पष्टता र जिम्मेवारी
सचिव दुवाडीले विभागीय प्रमुखहरूलाई समन्वयको जिम्मेवारी स्पष्ट गर्नुपर्नेमा पनि जोड दिएका छन् । आफ्नो मातहतका कामहरूलाई आफैँले पूरा गर्ने र अन्य निकायसँग समन्वय गर्नुपर्ने विषयमा सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने उनको निर्देशन थियो ।
“यदि कुनै कामका लागि अन्य निकायसँग समन्वय आवश्यक भएमा तुरुन्तै समन्वय गर्नुपर्छ । समन्वय गर्न नसकिने अवस्थामा, सम्बन्धित निकायबाट सहयोग लिई कार्य अगाडि बढाउनुपर्छ,” उनले भने । यसले प्रशासनिक प्रक्रिया प्रभावकारी बनाउन मद्दत गर्ने उनको विश्वास थियो ।
सेवा प्रवाह र सुशासन: ट्र्याकिङ र परिणाम मूल्यांकन प्रणाली लागू
सेवा प्रवाहलाई चुस्त, दुरुस्त र जनमुखी बनाउनु गृह मन्त्रालयको मुख्य उद्देश्य रहेको गृहसचिव दुवाडीको भनाई छ । यसका लागि उनले नियमित ट्र्याकिङ र मूल्यांकन प्रणाली लागू गर्न निर्देशन दिए ।
“कार्यक्रमको कार्यान्वयन प्रगति नियमित रूपमा ट्र्याक गर्नुपर्नेछ । सेवा प्रवाहको प्रभावकारिता सुनिश्चित गर्न प्रगति रिपोर्टले आधारभूत भूमिका खेल्छ,” उनले भने । सुशासन, शान्ति र सुरक्षा कायम गरी मन्त्रालयको उद्देश्य प्राप्त गर्ने कार्य योजनाको महत्त्वपूर्ण अंश रहेको उनले थप स्पष्ट पारे ।
गृहसचिव दुवाडीको यो निर्देशनले गृह मन्त्रालयलाई नतिजामुखी, जनउत्तरदायी र समन्वयात्मक बनाउने दिशामा अघि बढ्दै छ भन्न सकिन्छ तर नतिजाका लागि निर्देशन कति र कसरी कार्यान्वयन हुन्छन् भन्नेमा निर्भर रहनेछ । यदि गृहसचिवले दिएका यी निर्देशनलाई अक्षरस पालना गर्ने हो भने न केवल मन्त्रालयको कार्यक्षमतामा सुधार गर्नेछ,सेवा प्रवाह र सुशासनको प्रत्याभूतिसमेत गराउने छ तर त्यसका लागि अपरिहार्य दुई वटा पक्ष छन्, इच्छाशक्ति र इमान्दार प्रयास ! यसका लागि केही समय भने पर्खिनै पर्ने हुन्छ ।