काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले जीवनमा समस्या देखिएको औँल्याएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय संगठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने कार्यशालाको आज उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए ।
महासचिव पोखरेलले अहिले पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताए । उनले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए ।
महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताए । उनले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गदै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गरे ।
महासचिव पोखरेलले मिसन-२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताए । यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको बताए ।
पार्टी सदस्यलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने भन्दै उनले माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीले सञ्चालन गर्नुपर्ने बताए ।
महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टी पङ्क्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताए । उनले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।
स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभागका प्रमुख काशिनाथ अधिकारीले पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहको पार्टी काममा देखिएका समस्या र समाधानका उपाय प्रस्तुत गर्दै पार्टीको अबको ध्यान वडा केन्द्रित अभियानमा हुनुपर्ने जोड दिए ।
एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन कार्यशाला आयोजना गरिएको बताए ।
कार्यशालामा उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, पद्मा अर्याललगायतको सहभागिता रहेको थियो । कार्यशालामा एमाले पार्टीका प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ ।