काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरूकताका काम गर्नुपर्ने बताएका छन् । सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भइरहेको भन्दै सभामुख घिमिरेले असन्तुष्टि पनि व्यक्त गरिहरेका हुन् ।
संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको ‘संसदीय पत्रकारिता स् अवधारणा र अभ्यास’ पुस्तकको सोमबार काठमाडौँमा विमोजचन गर्दै सभामुख घिमिरेले कानुन निर्माणमा सांसदहरूले सहभागितालाई लिएर असन्तुष्टि जनाएका हुन् । सांसद निजी काम र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको सभामुखको भनाइ थियो । सांसद संसद्प्रति उत्तरदायी नभएको टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै उनले संसद् र समितिलाई प्रभावकारी बनाउन सबै सांसदले भूमिका निर्वाह गर्न जरुरी रहेको बताए ।
‘संसदीय अभ्यासमा विधेयकबाट कानुन बनाउने सवालमा संसदीय समिति हुन्छन् । ती समिति अहिले पनि कार्यरत छन् । अहिले हाम्रो समितिमा पर्याप्त विधेयक छैनन् तथापि १५-२० वटा विधेयक समितिको छलफलको क्रममा छन् । ती विधेयकमाथि छलफल नै अगाडि बढेन । समितिको कोरम नै पुगेन, ‘सभामुख घिमिरेले भने, ‘सांसद संसद्प्रति उत्तरदायी भएनन् भनेर बाहिर टीकाटिप्पणी भइरहेका छन् । सिंगो संसद र सभामुखको नाताले प्रतिनिधिसभाका यी समितिप्रति मेरो ध्यान गएको छ ।’
सभामुख घिमिरेले समितिहरूलाई नियमित ढंगबाट सञ्चालन गर्नका लागि पटक-पटक भन्दै आएको पनि बताए । समितिहरूलाई नियमित ढंगबाट सञ्चालन गर्ने र त्यसलाई प्रणालीभित्र लैजाने विषयमा मैले दलीय रूपमा र समिति सभापतिसँग बसेर छलफल गरेको छु, ‘उनले भने, ‘संघीयतामा चारैतिरबाट प्रश्न उठेका बेला संघीयतालाई आवश्यक पर्ने विधेयक ल्याउन छलफल गरिरहेको छु । त्यसमा पनि विद्यालय शिक्षा विधेयक, शिक्षा समितिमा छलफलमा छ, त्यसलाई भइरहेका समस्या के हुन्, मैले बारम्बार निर्देशित गर्ने काम गरेको छु । त्यसैगरी निजामती सेवा विधेयकलाई सम्पन्न गर्नको लागि सम्बन्धित समितिलाई भनिरहेको छु ।’
सांसदहरूलाई पहिलो प्राथमिकतामा कानुन निर्माणको विषय राख्न भन्दै आएको पनि सभामुख घिमिरेले बताए ।
सभामुख घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण रहने गरेको पनि बताए । उनले संसदीय गतिविधिलाई जनतामाझ पुर्याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गरेका थिए । संसदमा सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी पत्रकारिताका लागि नियमावलीमा प्रबन्ध गरिसकिएको र कार्यविधि पनि तयार पारिएको उनले जानकारी दिए ।