१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहँ कोही बोल्दैनन्

अ+ अ-

गोपीबहादुर कपनको नारायण चोकबाट एउटा सार्वजनिक बस चढे। भरिभराउ बसमा पनि सीट पाइएला कि भन्ने झिनो आशले बसभित्र छिरेका उनी भित्र खचाखच देख्दा भने खिन्न भए। यात्रुजन ओराल्ने र चढाउने काम सकेपछि तत्कालै बस हिँड्यो। यसरी बस कुदेको देखेर गन्तव्यमा छिट्टै पुगिने भो भन्दै गोपीबहादुर मक्ख परे। काठमाडौँको यो रुटको बसमा पहिलोपल्ट चढेका उनी मक्ख पर्नु स्वभाविक नै थियो। त्यसैले सिन्की खाँदिए झैँ बसमा खाँदिदा पनि एकैछिन त हो नि भन्दै खास पीडाबोध गरेनन्। एकछिनमा बस साततले पुग्यो। बसमा चट्पटाउने ठाउँ छैन। भीडले गर्दा एक अर्काको सास सुँघ्नुपर्ने बाध्यता छ। तर त्यहाँ प्रतीक्षारत पाँच/सात जना यात्रुलाई पनि कोच्ने कसरतमा लागे चालक दलका सदस्य। यात्रुले खचाखच भरिएको बस रोकेरै ती दुई महानुभाव बसबाट उत्रिएर आफ्नो कला देखाउन थाले।

एक साइडको झ्यालबाट हात छिराएर सहचालक र अर्को साइडको झ्यालबाट चालक बसमा उभिइरहेका यात्रुमाथि `ओ दाइ! ओ दिदी! `अलि भित्र छिर्नू´ `यसरी बस्नू´ `त्यसरी नबस्नू´ `राम्रो मुखले भनेको अलि पछाडि जानू´ `एक साइड समातेर बस्नू´ `बच्चालाई सीटमा नराख्नू´ भन्दै उर्दी छाँट्न थाले। त्यति मात्र हो र ! सीटमा बसेका यात्रुमाथि पनि तीनको शब्द प्रहार शुरू भो। भन्न थाले-`ओ भाइ घुँडा प्यासेजतिर नल्याउनू, भित्र राख्नू!´`ओ बाजे! झोला माथि राख्नू!´ ‘ओ बजै! मिलेर बस्दा यहाँ तीन जना अटिन्छ, मिलेर बस्नू!’

बिचरा यात्रुजन! ठाउँ भए पो सर्नु! तैपनि चुपचाप सरेझैँ गरिदिन्छन्। यताउता मिले झैँ गरिदिन्छन्। तीनका आदेशको तामेली खुरुखुरु गरेझैँ गरिदिन्छन्। यति नगरे `राम्रो मुखले भनेको´ भनेर एउटा भय अगाडि नै देखाइसकेका छन्। यो भयभीत अवस्थामा यात्रु जनले आफूले आफूलाई जेलभित्रका कैदी र चालक दलका सदस्यहरूलाई क्रूर जेलर भन्दा फरक पाउँदैनन्। तीनका सारा आदेशको पालना हुँदा पनि थप यात्रु अट्ने ठाउँ निस्किँदैन। अनि चालक दलका सदस्यहरूको गाली एक अमुक यात्रुमाथि एकैसाथ बर्सिन्छ। गाली पछि यात्रु जनले मुफ्तमा एउटा सल्लाह पनि पाउँछन्- `आरामले यात्रा गर्ने भए आफ्नो गाडी किन्ने अनि त्यसैमा सवारी हुने। कि त ट्याक्सीमा जाने।´

यसपछि ठेलठाल पेलपाल गरेरै भए पनि ती थप यात्रु तीनले कोचिछाडे। न त कोचिएका थप यात्रुले सुबिस्तासँग यात्रा गर्न पाए| न बाँकी यात्रुले! तर चालक दलका सदस्यको मुहार भने कान्तिमय बन्यो। परपीडामा रम्नेहरूको मुहार अरूले सास्ती भोग्दा शायद यसरी नै कान्तिमय बन्छ होला भनेर गोपीबहादुरले अनुमान लगाए। यसरी भेडा बाख्रा सरी यात्रु खाँदे पनि कसैले चुइँक्क एक शब्द बोलेन। जेलभित्रका कैदीले जेलरसामु बोल्ने कुरा पनि भएन।

बल्ल हिँड्यो बस साततलेबाट। गोपीकृष्णमा एकाध यात्रु उत्रिएपछि गोपीबहादुरले हल्का सास फेरे। शायद अरूले पनि फेरे हुन्। त्यही भएर तीनका अनुहार अघिका भन्दा अलिक उज्याला भए।अब चाबेलमा बसका आधाउधि यात्रु झरेपछि गोपीबहादुरले मास्क खोलेर पूरा सास फेरे अनि सीट पाएर यसैमा हत्तपत्त बसे। यतिखेर उनी बेपत्तै खुसी भए।उनलाई एसएलसी पास गर्दा पनि शायद यति खुसी लागेको थिएन।

एक छिनपछि बस गुड्यो। मित्र पार्क हुँदै कालो पुल पुग्यो। त्यहाँ करिब पन्ध्र मिनेट बस रोक्दा बस फेरि खचाखच भरियो। तैपनि बस गुड्दैन। अहँ! टसको मस हुँदैन। तै स्टार्ट चाहिँ बन्द भएको छैन। यस्तो लाग्थ्यो यो बस गुड्न बनेकै होइन। उल्टै बसको ढोका फुट्ने गरी ठटाउँदै चालक दलका एक सदस्य चिच्याउँदै भनिरहेका छन्- `ल रत्न पारक शहीद गेट! सीट खाली! सीट खाली!´ यस्तो दृश्य हाम्रा ट्राफिक प्रहरी पनि नजर गरिरहन्छन्।

गोपीबहादुर लगायत अरू यात्रुजन केही बोल्दैनन्।बोल्ने यात्रुहरू सबै बाइक र कारमा विस्थापित भइसके। बचेखुचेका समुन्द्र पार गइसके। सार्वजनिक गाडी चढ्ने त ती सीमान्तकृत जन न हुन् जसलाई जहाँ छोयो त्यहीँ दुख्छ। तर दुख्यो भन्दैनन्। न बाइकमा हिँड्न सक्छन् न कार किन्न सक्छन्। पैदल हिँडेर आफ्नो गन्तव्य तय गर्न पनि असम्भव छ। त्यसैले चुपचाप सहनुको विकल्प छैन। टीठलाग्दो कुरो चाहिँ चालक दलका सदस्य आफैँ पनि आर्थिक सामाजिक रूपले त्यही सीमान्तकृत वर्गका नै हुन्। तर ती आफ्नै वर्गका मान्छेको यस्तो खालको पीडामा कसरी रमाउन सकेका होलान्! गाडी भरिभराउ भइसकेपछि पनि नहिँडाई अझै यात्रु कोच्न कुन आत्माले दिँदो हो? सोच्दै गम खान्छन् गोपीबहादुर।

कति यात्रु खाँदेपछि त्यो बस त्यहाँबाट गुड्ने हो त्यसको यकिन संख्या चालक दलका सदस्यलाई पनि शायद थाहा छैन। `यसरी ती निर्दोष मान्छेहरूमाथि यो खालको अपरिमित ज्यादती बापत तीनले पाउने चाहिँ के रहेछ?´ फेरि सोचेर गोपीबहादुर एक छिन टोलाए। टोलाएर के गर्नु! अझ यात्रु खाँद्न उद्धत छन् ती। तीनको पिताम् चल्थ्यो त सीट सीट सबै उखेलेर सबै यात्रुलाई ट्रकमा राँगा खाँदे झैँ खाँद्थे। छतमा राखेर त विगतमा भरपुर अभ्यास गरेकै हुन्।गाउँघरतिर त यो अभ्यास अझै पनि सानसँग चलिरहेकै छ। लामो रुटमा चल्नेहरूले मुडामा राखेर यात्रुलाई दुःख दिँदै अतिरिक्त अर्थोपार्जनको अभ्यास पनि गरिरहेकै छन्।चाडबाडको कुरा त झन् के गरिसाध्य र!

आधा घण्टा सम्म यात्रुहरूलाई सकसपूर्ण उभ्याउँदै कोचेपछि बल्ल गाडी गुड्यो। गुड्यो के भन्नू? हुत्तियो।यसरी हुत्तियो मानौँ यो सार्वजनिक बस नभएर फित्कौली हो। यसरी फित्कौलीय गतिमा गाडीलाई हुइँक्याए पछि प्यासेन्जर नामका ती मूल्यहीन बस्तुहरू खाँदिन्छन् भन्ने तीनको सोच हुँदो हो। `बोरामा मकै भर्दा खाँदी खाँदी भर्न बोरा यताउता हल्लाए झैँ हल्लाउने यो कस्तो सोच होला! हे दैव!´ भन्दै गोपीबहादुर एक छिन छक्क परे। फित्कौलीय वेगपछि अब बसको शुरू हुन्छ एम्बुलेन्सीय वेग! यो वेग देख्दा गोपीबहादुरलाई कताकता चाँडै गन्तव्यमा पुर्‍याउला कि भन्ने भान पर्‍यो।त्यसैले उनी थोरै खुसी पनि भए । तर झ्यालबाट बाहिर यसो नजर लाउँदा उनको यो अनुमान तुरुन्तै खारेज भयो। खासमा आफूभन्दा अघिल्लो बसलाई ओभरटेक गरेर अगाडि जाने अनि उसका प्यासेन्जर खाने दाउ रहेको गोपीबहादुरले बुझे।

यो `साइरनविहीन अघोषित क्षणिक एम्बुलेन्स´को वेगात्मक दृश्यले यही कुरा पुष्टि गर्थ्यो। लगभग दुई इन्चको ग्याप राखेर ओभरटेक गरेको यो दृश्य पनि हाम्रा ट्राफिक प्रहरीले नदेख्ने कुरै भएन। देखेर के गर्नु? तर साँचो कुरो के हो भने हाम्रो सार्वजनिक यातायात व्यवस्थामा चालक दलका सदस्य मात्र निर्णायक हुन्। ट्राफिक प्रहरी,प्यासेन्जर,सडक, पैदल यात्रु,अन्य सवारी साधनका चालक, ट्राफिक नियम भनेका ती सदस्यका लागि गौण हुन्।

ती निर्णायक सदस्यले सरकारले तोकेको भन्दा अर्कै भाडा दरको निर्णय गर्छन्। २६ रुपियाँको भाडालाई खुद्रा छैन भन्दै ३० पनि असुल्न पाउँछन्। ३० को भाडालाई ३१ भन्दै ३५ असुल्न पनि पाउँछन्। भोलि नेपाल राष्ट्र बैंकले लागत बढी भो भन्दै पाँच रुपियाँको नोट पनि छाप्न छाड्यो भने यिनले ३२ रुपियाँको भाडा चालीस लिनेमा र यात्रुले दिनेमा सन्देह छैन।अनि यही क्रमले निरन्तरता पाउँदै दस/बिसको नोट पनि छापिन छाडे के होला? सबैतिर आइसकेको क्युआर सिष्टम यहाँ किन नआएको होला? आदरणीय पाठक वृन्द! विश्वको अरू कुनै मुलुकमा यो किसिमको व्यवस्थाको अभ्यास होला त? पक्कै छैन। त्यसैले यो व्यवस्थामा पनि चोमोलोङ्मा झैँ गर्व गर्न सिकौँ।

यी निर्णायक प्राणीले सडकका जुनसुकै सवारी साधन वा पैदल यात्रीलाई पनि तर्साउन पाउँछन्। ठाउँ कुठाउँ जहाँ पनि ओभरटेक गर्न र रोक्न पाउँछन्। जुनसुकै सवारी साधनलाई पनि स्पिडमा टक्कर दिन पाउँछन्। ठक्कर दिन पाउँछन्। बस कहाँ रोक्ने, कहाँ नरोक्ने, कति बेर सम्म रोक्ने, कति बेर नरोक्ने सारा कुराको निर्णय पनि गर्छन्। तीनका निर्णयका अगाडि यातायात व्यवस्थाका सारा सिद्धान्त,नीति, नियम,कानुन पानीका फोका हुन्।बलिका बोका हुन्।

किनभने कानुन विपरीतका निर्णय गर्दा पनि यिनले सजिलै उन्मुक्ति पनि पाउँछन्। नपरुन्जेल केही छैन। परे आफ्नो जाने होइन रहेछ। अनि कसरी हुन्छ जिम्मेवारी बोध? किन पालना गर्नुपर्‍यो ट्राफिक नियम? किन मान्नुपर्‍यो लेन अनुशासन?

यसरी घरी एम्बुलेन्स झैँ वेग मार्दै घरी ठेलागाडा झैँ गुड्दै अनि घरी भैँसी आहाल बसे झैँ बस्दै बसले गोपीबहादुरलाई गन्तव्यमा त पुर्‍यायो। तर पुग्नुपर्ने समय भन्दा चालीस मिनेट ढिलो। सार्वजनिक यातायातको परिभाषा नै बदल्दिन सक्ने चालक दलका यस्ता महान् सदस्यहरू प्रति गोपीबहादुरले कोटी कोटी नमन गरे। भाडा तिरे अनि झरे।

उनको काम आज भएन त्यसैले उनी बेलुकी फर्के-त्यही रुटमा तर फरक बसमा। करिब आधा घण्टा कुरेपछि बल्ल बल्ल आयो उनको बस। काटीकुटी देखे बिहानकै गति र उही नियति! केवल बस नम्बर मात्र फरक! जम्माजम्मी ७ किलोमिटरको बाटोलाई काठमाडौँको जाम र चालक दलका सदस्यहरूको यात्रु पीडक कामले ४० किलोमिटर बनाउँदै करिब एक घण्टा लगाएर बल्ल गाडी गोपीकृष्ण हल पुग्यो। त्यहाँबाट हिँडेर जाने हो भने गोपीबहादुरको गन्तव्य १० देखि १५ मिनेटमा पुगिन्छ तर उनीसँग गह्रौँ झोला भएकोले त्यो स्टेसनमा बसभित्र निर्ममतापूर्वक खाँदिँदै आधा घण्टा कुर्न बाध्य छन्।अभिशप्त छन्।त्यो पनि यात्रु नभएर रोकिएको भए त चित्त बुझाउने मेलो हुन्थ्यो। बस यात्रुहरूले खचाखच छ तर गुड्दै गुड्दैन।

बोल्ने कसले ? बोल्नेहरू या त बाइकमा छन् या त कारमा छन्। या त समुन्द्र पारमा छन् । या त सत्तामा छन् या विपक्षमा छन्।बरु कार र बाइकको त भेद छ। तर सत्ता र विपक्षीको भेद नभाको दसकौँ भइसक्यो।यी भेदविहीन प्राणीले सार्वजनिक यातायात चढ्दै चढ्दैनन्। यदाकदा चढेको नाटक नौटंकी भने देखाइरहन्छन्। आफूले प्रयोग नगर्ने चीज किन सुधार गर्नुपर्‍यो ?

त्यसैले कोही बोल्दैनन्। अहँ एकै शब्द बोल्दैनन्।

बाइक स्कूटी बिक्रीको अत्यासलाग्दो रेकर्डमा चालक दलका सदस्यहरूको यो खालको व्यवहारको भूमिका अहम् छैन भनेर कसरी पत्याउने ?

प्रतिक्रिया दिनुहोस