काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल सुरु गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पन्तको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल थालेको हो । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।
हिजो (मंगलबार) मात्रै केही प्रहरी अधिकारीलाई सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर छलफल गरिएको थियो ।
छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले जनाएको छ । गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ । तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले सकेको छैन ।