काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चार धाम नगरपालिका-४ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ३८ वर्षीय राजकुमार चौधरी र धनुषा मटिहानी नगरपालिका-९ घर भई काठमाडौँ महानगरपालिका-९ गौशाला बस्ने ३९ वर्षीय रूपेशकुमार चौधरी रहेका छन् ।
पक्राउ पर्नेमध्ये राजकुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३० हजार रुपैयाँ र रूपेशकुमारले सिंगापुर पठाइदिन्छु भन्दै १ जनाबाट १६ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएको थियो ।
सोही पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौँ काँडा घारीबाट मंगलबार र रूपेश कुमारलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो ।
हाल पक्राउ परेका दुई जनामाथि अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।