काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन टुंग्याएको छ ।
गत असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा नेताहरूको कार्य विभाजन हुन सकेको थिएन । तर २६ मंसिरदेखि एक साता चलेको स्थायी कमिटी बैठकले नेताहरूको कार्य विभाजन टुंगो लगाएको हो ।
नयाँ कार्य विभाजन अनुसार कोशी इन्चार्ज उपमहासचिव राजेन्द्र राई, मधेश इन्चार्ज उपाध्यक्ष धर्मनाथप्रसाद साह, बागमती इन्चार्ज उपाध्यक्ष गंगालाल तुलाधर, गण्डकी इन्चार्ज सचिव श्रीनाथ बराल, लुम्बिनी इन्चार्ज उपमहासचिव मेटमणि चौधरी, कर्णाली इन्चार्ज सचिव चन्द्रबहादुर शाही र सुदूरपश्चिम इन्चार्ज उपाध्यक्ष जानुभक्त जोशी बनेका छन् ।
सम्मानित नेता झलनाथ खनाल स्कुल विभाग प्रमुख बनेका छन् । वरिष्ठ नेताहरू बेदुराम भुसाल संगठन विभाग प्रमुख र प्रमेश हमाल विदेश विभाग प्रमुख बनेका छन् ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मोर्चा फाँट प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टी उपाध्यक्ष जगनाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख र उपाध्यक्ष जयन्ती राईलाई अनेम संघ इन्चार्जको जिम्मेवारी दिइएको छ ।
महासचिव घनश्याम भुसालले पार्टी कामको अनुगमनको जिम्मेवारी पाएका छन् । उपमहासचिव गरिमा शाहलाई संसदीय फाँट इन्चार्ज र अर्का उपमहासचिव रामकुमार भट्टराईलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । युवा विभाग इन्चार्जमा लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्ज रामकुमारी झाँक्री बनेकी छन् ।
स्थायी कमिटीबाट अनुमोदित नेताहरूको कार्य विभाजन सम्बन्धी जानकारी अपानि मार्फत भोलि मातहतको कमिटीमा पठाउने तयारी छ । ‘पदाधिकारी सहित सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन भएको छ । भोलितिर अपानि जारी हुन्छ’, उपाध्यक्ष खतिवडाले भने ।