काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू ६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार कार्यालय समय सुरु भएपछि आ-आफ्नो कार्यालय अगाडि भेला भएर १ घण्टा धर्ना दिएको विश्वविद्यालय क्याम्पस एकाइ समिति सभापति अनन्तप्रसाद पौडेलले बताए ।
वर्षौँदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर्न माग राखेको उनले जानकारी दिए ।
नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तर वृद्धि तुरुन्तै लागू गर्न कर्मचारीले माग गरेका छन् । रिक्त दरबन्दीमा विज्ञापन गर्नुपर्ने, लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नति सुनिश्चित गर्नुपर्ने माग कर्मचारीको छ ।