मकवानपुर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेस नेतृत्वको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्ने बताएका छन् ।
निर्माणाधीन गणेशमान सिंह राजमार्गको आज निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले वर्तमान सरकार संघीयतालाई सबल बनाउन क्रियाशील रहेको बताए । उनले गुणस्तरीय निर्माण विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन पनि दिए । काठमाडौँको थानकोटदेखि मकवानपुरको थाहा नगरपालिका-९ सम्म उक्त मार्ग निर्माणाधीन छ ।
यसैबीच, थाहा नगरपालिका-९ का नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई भेटेर नेता सिंहले नेपाली काँग्रेसको नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्था संस्थागत भएको बताउँदै पार्टी कार्यकर्ताहरूले जनताका घरदैलोमा पुगेर संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको भए पनि जनताको आर्थिक स्थिति उकास्न काँग्रेसले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न आवश्यक छ भने । उनले जनताका विकासका चाहना पूरा गर्न पार्टी नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गुट उपगुटमा पार्टी कार्यकर्ता विभक्त हुनुहुँदैन भने ।