कैलाली। थुनामुक्त गरिदिने आश्वासनमा रकम असुल गर्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-१ बाट लागुऔषध मुद्दामा हिरासतमा रहेका थुनुवालाई छुटाउने बहानामा भारतीय रुपैयाँ ३९,५०० असुल गर्ने तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा गौरीगंगा नगरपालिका-७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन्। प्रहरीका अनुसार उनीहरूले थुनुवाका परिवारका सदस्यहरूसँग रकम लिने र थप रकम थुनुवा छुटेपछि लिने सहमति गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, मिति २०८१ पुस ५ गते साँझ ७:३० बजे विशेष सूचनाका आधारमा प्रहरीले धनगढीबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
थुनुवा छुटाउन पैसा असुल्ने कामलाई गम्भीर अपराधको रूपमा लिँदै प्रहरीले आवश्यक कानूनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ।