काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी व्यवस्थापन नै अहिले काँग्रेसको मुख्य चुनौती रहेको बताएका छन् । क्रियाशील सदस्यताको महत्त्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा पनि उनले जोड दिए ।
सोमबार नेपाल काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले क्षेत्र पाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले काँग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो,’ उनले भने, ‘क्रियाशील सदस्यको संख्या धेरै छ । तर, क्रियाशील सदस्यहरूलाई सदस्यताको महत्त्व बुझाउन नसकेको हो कि ? अब बुझाउनुपर्यो ।’ हरेक क्रियाशील सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनको भनाइ थियो ।
देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको भन्दै उनले जनताको पटक–पटक विश्वास जितेको पार्टी काँग्रेसको क्रियाशील सदस्यता सामान्य विषय नभएको बताए । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । काँग्रेसको काठमाडौं महानगर समिति काठमाडौँवासीका पिरमर्का र समस्या समाधानका लागि सक्रिय हुनुपर्ने पनि उनले बताए ।
एक सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे । काठमाडौंमा काँग्रेसको सय दिने विशेष अभियानका लागि पूर्वमन्त्री कृष्णप्रसाद सिटौला खटिएका छन् ।