काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारका मन्त्री र सचिवहरूलाई हेटौँडामा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् ।
बागमतीका मन्त्री र सचिवहरू काठमाडौँ केन्द्रित भएको जनाउँदै मुख्यमन्त्री लामाले हेटौँडामा केन्द्रित रहेर काम गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार मन्त्रीहरूलाई हप्ताको चार दिन र सचिवहरूलाई पाँच दिन अनिवार्य हेटौँडामै बसेर काम गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रगति समीक्षा बैठकमा मुख्यमन्त्री लामाले अत्यावश्यक काम बाहेक हेटौँडा नछाड्न र मन्त्रालयमै बसेर काम गर्न कडा निर्देशन दिएका हुन् ।
१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशको समीक्षा बैठकमा चार जना मन्त्री अनुपस्थित रहेपछि लामा आक्रोशित भएका थिए । संघीयताको मर्म बमोजिम मुकाममा रहेर नियमित काम गर्दा मात्र सरकार सफल हुने भन्दै लामाले मन्त्री र सचिवहरूले संघियताको मर्मलाई पालना गर्नुपर्ने बताए ।
बागमतीका मन्त्रीहरू नियमित कामको साटो विभिन्न जिल्लामा हुने उद्घाटन र पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त हुन थालेपछि मुख्यमन्त्री लामाले कडा निर्देशन दिएका हुन् ।