काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समृद्धिले मुलुककै अर्थतन्त्रलाई योगदान दिने बताएका छन् ।
लगानी बोर्डले वीरेन्द्रनगरमा बुधबार गरेको सार्वजनिक-निजी साझेदारसम्बन्धी प्रादेशिक छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुकमा कहींकतै नभएका सम्भावना कर्णालीमा रहेकोले कर्णालीको समृद्धिले मुलुककै अर्थतन्त्रलाई माथि उठाउने बताए ।
अहिले कर्णालीका धेरै नकारात्मक विषयले मात्र चर्चा पाउने गरेको उल्लेख गर्दै उनले समयक्रममा कर्णाली प्रदेश सबैभन्दा योगदान दिने प्रदेशको रूपमा स्थापित हुने दाबी गरे ।
कृषि, पर्यटन, जलविद्युत्, वनजस्ता प्राकृतिक साधन स्रोतले कर्णाली धनी रहे पनि पूर्वाधारको अभावमा अपेक्षित लाभ लिन नसकेको धारणा राखे ।
कर्णालीमा लगानीको वातावरण बनाउन संघीय सरकारले पूर्वाधारका ५ वटा क्षेत्रलाई प्राथमिकता राख्न आग्रह गर्दै मुख्यमन्त्री कँडेलले पूर्वाधार विकासमा सहजीकरण गरे सबैभन्दा अब्बल प्रदेशको रूपमा स्थापित गर्न सकिने पनि बताए ।
मुलुक संघीय सरकारमा गइसकेपछि पनि लगानीसम्बन्धी कानुनहरू पुरानै अवस्थामा चलिरहेकोले त्यसलाई प्रादेशिक संरचनामैत्री बनाउन आग्रह गरे । पूर्वाधारमा लगानी नभएसम्म निजी क्षेत्र आकर्षित नहुने हुँदा सरकारले पहिला पूर्वाधार विकासमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘कर्णालीमा लगानी गर्ने उत्सुकता देखिन्छ, लगानीको लागि उपयुक्त स्थानहरू पनि छन् । लगानीकर्ताले लगानीको लागि कानुनहरू बाधक भएको देखाएर पन्छिनु हुन्छ, कानुनलाई लगानीमैत्री बनाउन हामीले प्रयत्न गर्नैपर्छ ।’