काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरूको सामना गर्नुपर्ने भइरहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर सञ्चालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताए ।
‘एउटा निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल चढ्न पाउने प्रबन्धलाई व्यवस्था गरियो भने त्यहाँ अरु ठूलो जोखिमको स्थिति रहन्न । त्यो कुरामा हामीले ध्यान दिनुपर्छ,’ उनले भने।
निजी क्षेत्रसँग हेलिकप्टर हुनु सबल पक्ष भएको विदेशीहरूले समेत बताउँदै आएको उनले बताए । ‘निजी क्षेत्रहरूले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर सञ्चालन गर्ने उहाँहरूले गरेको वायु र ध्वनी प्रदूषणलाई नियन्त्रण र नियमन गर्ने यो काम क्यानले गर्छ,’ उनले भने ।
साथै, उनले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताएका छन् ।
सहुलियतपूर्ण हवाई यातायात सञ्चालनमा सरकारले बनाएको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको उनले स्वीकार गरे ।
‘विमानस्थल सञ्चालनका सन्दर्भमा थुप्रै चुनौतीका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्ययोजना बनायो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्य योजनाअनुसार कामहरू भएका छन् भने कतिपय निकायहरूबाट भएको देखिँदैन,’ उनले भने ।