काठमाडौँ । चीनले तिब्बतको यारलुङ सांगपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ । यहाँ बाँध बाँधेर थ्रीगर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । विशेषज्ञहरूका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो हुने अनुमान छ ।
यारलुङ नदीको बाँध निर्माण कहिलेदेखि सुरु हुन्छ र ठ्याक्कै कहाँनेर बन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर यो बाँध चीन–भारतको सीमा क्षेत्र नजिकको भूकम्प गइरहने र बढी वर्षा हुने क्षेत्रमा बन्ने अनुमान छ ।
चिनियाँ अधिकारीहरूका अनुसार यहाँ बाँध बाँधेर ३०० अर्ब किलोवाट बिजुली उत्पादन गरिने छ । चीनको थ्रीगर्जेज बाँधबाट ८८।२ अर्ब किलोवाट बिजुली उत्पादन हुँदै आएको छ ।
बाँध बनाउन लागिएको यारलुङ सांगपो नदी तिब्बतको पठार हुँदै भारत प्रवेश गर्दछ । यो नदी अरुणाचल प्रदेश र आसाम हुँदै बांङ्लादेश पुग्छ । भारतमा यो नदीलाई ब्रह्मपुत्र र बांङ्लादेशमा पद्मा नदीको रूपमा चिनिन्छ ।
त्यसैले चीनले यारलुङ नदीमा बनाउने बाँधबाट भारतको उत्तर पूर्व राज्य र बांङ्लादेश समेत प्रभावित हुने आशंका कतिपयको छ । यसले नदी तटीय क्षेत्र प्रभावित हुने अनुमान समेत गरिन्छ । तर चिनियाँ अधिकारीहरूले यसबाट कसैलाई कुनै प्रकारको हानि नहुने बताउने गरेका छन् ।