काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी घटकहरूसँगको एकता प्रक्रियाबाट आफूहरू ब्याक नभएको बताएका छन् ।
आज (बिहीबार) माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन् ।
महासचिव ‘विप्लव’ले आफूहरूले मोर्चा र एकताको ढोका सधैँ खुल्ला राखेको बताए । ‘एकताका लागि हामी सकारात्मक छौँ । हामी केन्द्रीय समितिको बैठक बस्यौँ । ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ । त्यो कुरा सत्य होइन । हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निष्कर्षसहित हामी आएको हो । आज पनि एकताबाट पछि फर्किएको छैन । आवश्यक छ,’उनले भने ।
नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेको थियो । सो बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकता विरोधी नेताको रूपमा चित्रणसमेत गरेको थियो । तर, आज ‘विप्लव’ले नेकपा एकताको प्रक्रियाबाट पछाडि नहटेको बताए । महासचिव विप्लवले बरु माओवादीले एकताको लागि सक्रियता नदेखाएको हो कि जस्तो भान सुरु भएको बताए । आफूहरूले एकताको बारेमा ९ महिनाअघि नै निर्णय गरेको भए पनि माओवादीले अहिलेसम्म पार्टीका फोरमहरूमा औपचारिक बहस सुरु नगरेको बताए ।