काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग नेपाली काँग्रेस र एमालेकै नेताहरू वाक्क हुन थालेको बताएका छन् ।
रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले काँग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।
‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अब कम्युनिस्टहरू मिलौँ भन्नेजस्तो कुरा गरेर काँग्रेस तर्साउन खोज्नुहुन्छ । काँग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा-एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ,’ पुनले भने, ‘उहाँहरू विकल्पमा छलफल गरौँ भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौँ । तर हामी काँग्रेसको विकल्प एमाले र एमालेको विकल्प काँग्रेस भनेर पात्र फेर्ने र बिचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौँ ।’
पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने पनि दाबी गरे । ‘हामी अब सरकारमा जाने होइन । ०८४ सम्म जाँदैनौँ भनेका छौँ । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौँ,’ पुनले भने ।
श्रीलंका र बाङ्लादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनको भनाइ थियो ।