बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले सीमित स्रोत र साधनका बाबजुद पनि दूर दराजसम्म विकास निर्माणलाई गति दिएको बताएका छन् ।
तमानखोला गाउँपालिका-१ बोंगादोभानमा मोटरेबल पुल उद्घाटन गर्दै उनले प्रदेश सरकारले विकास नभएका ठाउँलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले दूर दराजमा पनि विकास सम्भव भएको बताए । आज उद्घाटन गरिएको उक्त पुल विसं २०७७ मा निर्माण सुरु भइ गत महिना सम्पन्न भएको थियो ।
मुख्यमन्त्री पाण्डेले विकासको मुख्य आधार सडक पहुँच रहेकाले विकट क्षेत्रका बस्तीसम्म सडकको पहुँच पुर्याउने काम भइरहेको उल्लेख गरे । उनले भने, “सबै तिर एकै पटक विकास गर्न सम्भव हुँदैन, क्रमिक रूपमा विकास हुँदै जाने हो, पछिल्लो एक दशकमा धेरै विकास भएको छ, सडकले नागरिकको जनजीवनमा परिवर्तन ल्याएको छ ।”
बोंगादोभानमा पुल बनेपछि साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने भएको छ । रु. दुई करोड ७१ लाख २७ हजार नौ सय ६४ मा लागतमा पुल निर्माण भएपछि पुल तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान बजारदेखि नर्जाखानी, तमान, स्याउला, खुङ्खानी, थास्पुरी लगाएका गाउँमा पुग्न सहज भएको छ ।