काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लगाइएको सम्पत्ति शुद्धीकरण मुद्दा असन्तुष्ट देखिएका छन् ।
गुरुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताए ।
महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा काँग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पत्ति छानबिन एकरदुई नभई सबै नेताको हुनुपर्ने बताए । एकरदुई जना नेताको मात्रै सम्पत्ति छानबिन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो ।
‘एक दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानबिन हुनुपर्छ,’ गुरुङले भने । नेताको मात्र नभएर कर्मचारीको समेत सम्पत्ति छानबिन हुनुपर्ने गुरुङको जोड थियो ।
उपसभापति गुरुङले सरकार तत्काल ढल्ने परिकल्पना नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘सरकार मन्त्री र प्रधानमन्त्री मात्रै परिवर्तन गरेर केही हुँदैन । भएको मन्त्रीमण्डललाई सबैले सफल कार्यमा लगाउन सहयोग गरौँ,’ गुरुङले भने ।
मन्त्री बन्न नपाएकाहरूले रिस पोख्न सरकार ढल्ने हल्ला चलाएको उनको आरोप थियो । काँग्रेसमा एक नेताले अर्को नेतालाई सार्वजनिक रूपमा गाली गर्दा नागरिकमा नैरश्यता पैदा हुने विचार राखे ।
गुरुङले भने, ‘घरको कुरा घरमा मज्जाले गर्न पाइन्छ, गर्ने हो तर नेता-नेता बीचमा सम्बन्ध नै नभए जसरी एकले अर्कोलाई गाली गर्न हुँदैन ।’