काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आंशिक उत्पादन थालेको छ । तर, उद्योगहरूमा जारी ८ घण्टाको अघोषित लोडसेडिङ यथावत् छ ।
९ पुसदेखि माथिल्लो तामाकोसी आयोजनाबाट १ सय २० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । तर, ४ सय ५६ मेगावाटको ‘पिकिङ रन अफ द रिभर’ आयोजना पूर्णक्षमतामा सञ्चालनमा नआउँदा विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टाका दरले विद्युत् कटौती (लोडसेडिङ) गरिरहेको छ ।
सबै उद्योग नभएर केहीमा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
त्यतिमात्र नभई ट्रान्समिसन लाइनको क्षमताले धान्न नसक्दा विद्युत् प्रसारणमा समस्या भएका क्षेत्रमा विद्युत् कटौती भएको छ ।
पूर्वाधार नहुँदा उत्पादन वा आयात पर्याप्त गरे पनि त्यसको वितरणमा समस्या हुने गरेको प्राधिकरणको भनाई छ ।
प्राधिकरणको तथ्यांक अनुसार अहिले पिक आवरमा करिब २ हजार मेगावाट विद्युत् माग छ । त्यसमध्ये मुलुकको उत्पादन र आयात समेत गरेर करिब १ हजार ६ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।