काठमाडौँ । ११औँ फाल्गुनन्द गोल्डपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब, काठमाडौँले चुमेको छ । प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लबलाई ट्राइबेकरमा ५-४ गोलले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २-२ गोल बराबरीमा खेलेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।
चर्च ब्वाइजको जितमा सुजन डंगोल,रोहन कार्की,छिरिङ लामा,एकराज बुडाथोकी,फाकुन्ले आवायामीले गोल गरे । मच्छिन्द्रका समिरराज थोकर,सौरभ सुब्बा,सनिष श्रेष्ठ र देवेन्द्र तामाङले गोल गरे पनि दयानन्द इङ्बामको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृशल मोक्तानले बचाएपछि मच्छिन्द्र चर्च ब्वाइजसँगै स्तब्ध हुँदै उपविजेतामा सीमित रहन पुग्यो ।
जितसँगै चर्च ब्वाइजले ट्रफीसहित नगद १० लाख ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता मच्छिन्द्रले नगद ५ लाख ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । प्रतियोगिता अवधिभर ६ गोल गरेका समीर तामाङ सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) र हाइ स्कोरर बन्दै स्कुटरसहित नगद १५ हजारले पुरस्कृत भए ।
चर्च ब्वाइजकै कृश्चल मोक्तान बेस्ट गोलकिपर,चर्च ब्वाइजकै देवेन्द्र तामाङ बेस्ट डिफेन्डर,चर्च ब्वाइजकै दिपेश गुरुङ बेस्ट मिडफिल्डर,चर्च ब्वाइजकै सुमन श्रेष्ठ बेस्ट कोच भए । उनीहरूले जनही १० हजार रुपैयाँ पाए ।
मच्छिन्द्रका बिजु भुजेल बेस्ट प्लेयर र मच्छिन्द्रकै सनिष श्रेष्ठ फाइनलको म्यान अफ द म्याच भए । यस्तै आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री राइजिङ प्लेयरका रूपमा पुरस्कृत भए ।