काठमाडौँ। सुदूरपश्चिमलाई विशेष प्रदेश घोषणा गरिनुपर्ने मागसहित त्यहाँका युवाहरूले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ थाल्ने तयारी गरेका छन् ।
यो अभियानको नेतृत्व सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला एवं योजना मन्त्री नरेश शाहीले गरेका छन् । ‘पुराना दल र सिंहदरवारको आश गरेर सुदूरपश्चिमले न्याय पाउँदैन भन्ने निष्कर्ष सहित ९ वटै जिल्लाका युवाहरू स्वाभिमान अभियानमा जोडिँदै छौँ’, शाहीले भने ।
उनका अनुसार केही समयभित्रै अभियानको संगठनात्मक संरचना सार्वजनिक हुनेछ । ‘राजनीतिक दलहरू माथि उठेर सुदूरपश्चिमका जनताको हितमा अभियान थाल्दै छौँ । हाम्रो अभियान विद्रोहसम्म जान सक्छ’, शाहीले भने ।
सुपलाई राज्यले गरिरहेको विभेदको बदला अब विशेष अधिकारसहितको क्षतिपूर्ति दिइनुपर्ने उनको माग छ ।
राज्यको बजेट, प्राथमिकता, सहभागिता लगायत हरेक क्षेत्रमा सुपलाई विभेद गरिँदै आएको शाहीले बताए । ‘२०१३ साल यताको बजेट हेर्दा सुदूरपश्चिममा ९ प्रतिशत भन्दा मुनि गएको छ । सार्वजनिक ऋणको अंश ५ प्रतिशत छ । तर गरिबी ३४ प्रतिशत छ’, उनी भन्छन् ।
देशको गरिबी प्रतिशत भन्दा १४ प्रतिशत बढी गरिबी रहेको सुपमा राज्यको लगानी अत्यन्तै न्यून रहेको शाहीले बताए ।
ठूला परियोजनाहरूमा पनि उत्तिकै उपेक्षा गरिएकाले विशेष अभियान थाल्न लागिएको शाहीले बताए ।