काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।
मंगलबार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताएका हुन् ।
‘बालविवाहका कारण हाम्रा चेलीबेटीहरूको शारीरिक र मानसिक शोषण हुने गर्दछ । यसविरुद्ध हामी सबैको आफ्नो आफ्नो तहबाट सोच्नै पर्ने अवस्था छ,’ मन्त्री सुडिले भने, ‘तर अन्य चिजमा पनि हाम्रो सरकार, हाम्रो संविधान त्रिपक्षीय सरकारको कल्पना गरेको छ । त्यसैले हामीलाई पनि तीनै सरकारलाई मिलेर यो देशको समृद्धिको लागि, विकासको लागि र उन्नतिको लागि सहकार्य गर्यो भने सम्भव छ ।’
कानुनको परिपालनाका लागि आफू मातहतका स्थानीय तहहरूलाई निर्देशन दिन प्रदेश मन्त्रीहरूलाई निर्देशन पनि दिए ।
‘म सम्पूर्ण प्रदेशका मन्त्रीज्यूहरूसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तपाईँहरूसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा गर्दछु । र तपाईँहरू पनि आफ्नो प्रदेश मातहत जति पालिकाहरू छ । त्यो पालिकाहरूसँग काँध मिलाएर कसरी सबै कानुनहरूको पालन गर्न सकिन्छ गर्नुहोस्,’ उनले भने ।