वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारविरुद्ध खबरदारी गर्न वीरगन्जमा सभा गर्न लागेको बताएका छन् ।
सरकारका मान्छेहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए । भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको अध्यक्ष साहले आरोप लगाए । आजपा पर्सा जिल्ला कमिटीको बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन ।
हालै भ्रष्टाचारविरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्न लागेको छ । ‘मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ तर सरकार मुकर्दशक बनेको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार बढ्दै गइरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरू संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरूकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढ्दै गइरहेको छ । भ्रष्टाचारविरुद्ध आवाज उठाउने उद्देश्यले हामीले खबरदारी सभा गर्न लागेका छौँ ।’