काठमाडौँ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत अछाम खण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन ।
पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत अछामको मंगलसेन देखी विनायक सम्मको विभिन्न ठाउँमा लामो समयदेखी बाढी र पहिरोले क्षति पुर्याएको सडकको मर्मत कार्य छिटो अगाडि बढाउन उनले निर्देशन दिएका हुन ।
राजमार्गको तत्काल मर्मत एवं संरक्षण गर्न जरुरी भएको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले पटक-पटक जानकारी गराउँदा पनि हालसम्म सडक मर्मत नभएको लम्सालले बताए।

प्रमुख जिल्ला अधिकारी लम्साल र मध्य पहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख सहितको टोलीले बाढी पहिरोले लामो समय देखि बिग्रेको मंगलसेन बजार देखि-मंगलसेन बसपार्क सम्मको सडक ,मंगलसेन- ठूलासैन खण्डको सडक ,जाँदा मंगलसेन नगरपालिका-६, ७, ८ र ९ को सिमाना रहेको चिण्डे सामुदायिक वन, पञ्चदेवल विनायक नगरपालिका-३ स्थित नगरपालिकाको पुरानो भवन अगाडी-सुन्तालावाडी) लगायत विभिन्न ठाउँमा बिग्रेको सडकको स्थलगत अनुगमन गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजना मध्येको एक पुष्पलाल मध्य पहाडी लोक मार्गको विभिन्न ठाउँमा सडक बिग्रँदा दुर्घटना बढ्ने गरेको आम नागरिकबाट गुनासो आएपछि मर्मत कार्य अगाडि बढाउन पहल गरिएको हो ।
स-साना ठाउँमा बिग्रेको सडकलाई तत्काल मर्मतको प्रक्रिया अगाडि बढाउने र ठुलो ठाउँमा क्षति भएको सडकको वर्षायाम भन्दा अगाडि काम सम्पन्न गर्ने पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख अन्जु परियारले प्रतिबद्धता व्यक्त गरेकी छन ।