काठमाडौँ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दाको पेसी आज तोकिएको छ । यो मुद्दामा १३औँ पटक पेसी तोकिएको हो ।
उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा यो मुद्दा परेको छ ।
०७२ भदौ २५ मा भएको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका सांसद शर्माको तर्फबाट उनका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। तर, यो मुद्दा पटक-पटक स्थगित हुँदै आएको छ ।
यसअघि २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुव कुमार पियाको संयुक्त इजलासमा पेसी परे पनि हेर्ने नभ्याइनेमा परेको थियो ।
मुद्दा सुनुवाइका क्रममा ६ पटक विभिन्न कानुनी कारण, दुई पटक अन्य कारण र केही पटक मुद्दा साथै राख्नुपर्ने अवस्था सिर्जना हुँदा पेसी स्थगित भएको थियो ।
मधेश प्रदेश सभाले २०८१ वैशाख १८ गते सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा दोषी ठहरिएपछि सांसद शर्मालाई निलम्बन गरेको थियो ।
महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ मा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले जन्मकैदको सजाय सुनाएको थियो। सोही इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित सात जनालाई पनि जन्मकैदको फैसला सुनाएको थियो।