काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको छ ।
नगरले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्तरुपमा नगरको ११ वटा वडामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरेको हो ।
चार दिनसम्म सञ्चालन हुने शिविरका लागि माट्रिका आइ सेन्टरले प्राविधिक सहयोग गरेको जनाइएको छ । बुधबारदेखि सुरु भएको शिविर पाँचखाल नगरका विभिन्न ११ स्थानमा यही माघ ५ गतेसम्म सञ्चालन हुने निःशुल्क शिविरमा शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । शिविर अन्तर्गत पाँचखाल-१ को कोट्याङ सहरी स्वास्थ्य केन्द्र, वडा नं ५ स्थित केराघारी सहरी स्वास्थ्य केन्द्र र वडा न १० को सहरी स्वास्थ्य केन्द्रमा मोतिविन्दुको स्क्रनिङ शिविर गरिएको छ ।
संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीका अनुसार शिविर अन्तर्गत पाँचखाल-८ स्थित होक्से स्वास्थ्य चौकी, वडा नं ९ को साठ्ठीघर स्वास्थ्य चौकी, वडा नं ११ स्थित खरेल थोक स्वास्थ्य चौकी र वडा नं १३ मा कोश देखा स्वास्थ्य चौकीमा शिविर हुँदै सञ्चालन गरिने छ । यस्तै शुक्रबार पाँचखाल–३ समाज कल्याण सहरी स्वास्थ्य केन्द्र, पाँचखाल-६ मा प्राथमिक स्वास्थ्य केन्द्र दुलाल थोक, पाँचखाल-७ मा श्रीराम पाटी सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १२ मा देवभूमि बालुवा स्वास्थ्य चौकीमा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ हुने जनाइएको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताए । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम रहेको भन्दै शिविर सञ्चालन गरिएको जनाइएको छ । शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामी पायक पर्ने अस्पताल वा सेन्टरले नै व्यवस्थापन गर्ने गरी नगरसँग सम्झौता गरिएको छ ।