काठमाडौँ । तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ । यसअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक, विधायन व्यवस्थापन समितिको बैठक र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
बैठक बिहान साढे १० बजे बस्नेछ । जसमा पहिलो राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै छ । बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७९/०८० का सम्बन्धमा छलफल हुनेछ ।
त्यसपछि साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ ।
अन्तिममा दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा महान्यायाधिवक्तासँग छलफल हुने संसदीय समितिको सचिवालयले जनाएको छ ।