काठमाडौँ। गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी सहसचिव डा. भीष्मकुमार भूसाललाई दिइएको छ।
प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिव भुसाललाई गृह मन्त्रालयले गृहमन्त्रीस्तरीय निर्णयका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (दोस्रो संशोधन) नियमावली, २०८१ को प्रावधानअनुसार कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो।
“तपाईँलाई मन्त्रीस्तरीय माघ ४ गतेको निर्णयअनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५(ग) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको जानकारी गराइन्छ,” भुसाललाई प्रदान गरिएको पत्रमा उल्लेख छ।
नियमावलीको दफा ५(ग) अनुसार कार्यकारी प्रमुखको कार्यकाल समाप्त भएमा वा कुनै कारणले उक्त पद रिक्त भएमा नयाँ कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिवलाई कार्यकारी प्रमुखको रूपमा जिम्मेवारी दिने व्यवस्था गरिएको छ।
यसैबीच, प्राधिकरणमा स्थायी कार्यकारी प्रमुख छनोटको प्रक्रिया जारी रहेको जनाइएको छ।