काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य नभनेको दाबी गरेका छन् ।
पछिल्लो समय दुई दलीय व्यवस्थाको पक्षमा वकालत गरिरहेका महासचिव पोखरेलमाथि जबजको मर्मविरुद्ध बोलेको आरोप लाग्ने गरेको छ । यस्तै आरोपको खण्डन गर्दै उनले सोमबार बिहान सामाजिक सञ्जालमा एक लामो विचार राखेका छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस’ शीर्षकमा विचार राख्दै उनले लेखेका छन्, ‘जबजले धेरै दलका बीचको प्रतिस्पर्धा अपरिहार्य भनेर भनेको पनि छैन र त्यसरी सोच्नु पनि उचित हुँदैन ।’
महासचिव पोखरेलले नेपालको संविधानले दुई मान्यताका बीचको राजनीतिक ध्रुवीकरणलाई अपरिहार्य मानेको उल्लेख गरेका छन् । कम्युनिष्ट पार्टीबीच ध्रुवीकरण हुनुपर्ने आशयको मत राख्दै उनले लेखेका छन्, ‘कम्युनिष्ट आन्दोलनमा भएको विभाजन आजको यथार्थ हो । तर भविष्यमा पनि यस्तै भइरहनुपर्दछ भन्ने कुरा वर्ग दृष्टिकोणका आधारमा गलत हो ।’
पोखरेलले अमेरिकाको उदाहरण पेस गर्दै नेपालमा पनि दुईदलीय व्यवस्था ठिक हुने र यसले राजनीतिक स्थिरता दिने तर्क गरेका छन् । ‘केही समय अघि सम्पन्न भएको अमेरिका राष्ट्रपतिको चुनावमा दुईभन्दा बढी राष्ट्रपति पदका उम्मेदवारहरू थिए । तर कसैले पनि डोनाल्ड ट्रम्प र कमला ह्यारिस बाहेकको चर्चा सुनेनन्, डोनाल्ड ट्रम्प विजयी भए’ उनले भनेका छन्, ‘कमला ह्यारिस निकटतम् प्रतिद्वन्द्वी भइन् । बाँकी उम्मेदवारहरूले कसैले पनि ।५ मत कटाउन सकेनन् ।’
यद्यपि अमेरिका र नेपालले अवलम्बन गरेको शासकीय स्वरूप फरक रहेको कुरा महासचिव पोखरेलले उल्लेख गरेका छैनन् ।