अछाम । तुर्माखाद गाउँपालिका-६ कुनिगडामा अवस्थित भैरवस्थान प्रहरी चौकी रानीवनको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै बिसीले प्रहरी चौकीको आफ्नै भवन निर्माणले यहाँका नागरिकलाई सहज हुने बताए ।
वडा नम्बर ६ को वडा कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट ४ लाख रकम र प्रधानमन्त्री स्वरोजगार अन्तर्गत दुई लाख बराबरको कामबाट प्रहरी चौकीको तिन कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष टिकाराम्म न्यौपानेले जानकारी दिए ।
स्थानीय तहका नागरिकको सुरक्षाको जिम्मेवारी लिएका ग्रामीण क्षेत्रका प्रहरी नै आफैँ असुरक्षित भएर नागरिकको सुरक्षामा खटिनुपर्ने अवस्थामा प्रहरी चौकीको आफ्नै भवन निर्माण हुँदा शान्ति सुरक्षा कायम गराउन सहयोग पुग्ने प्रहरीको भनाइ छ ।
नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए । उनले प्रहरी आफैँलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताए ।
भाडाको भरमा जीर्ण घरबाट नागरिकको सेवामा खटिएका यहाँका प्रहरीको लागी प्रहरी चौकीको भवन निर्माण हुँदा यहाँका आम नागरिक लाई छिटो ,छरितो र सहज तरिकाले सेवा प्रवाह हुने उनको विश्वास छ ।
अहिले पनि जिल्लामा १४ वटा प्रहरी चौकीको आफ्नै भवन नभएको अवस्थामा भाडाकै घरमा प्रहरीहरू बसिरहेका प्रनाउ भण्डारीले बताए ।