काठमाडौँ । नेपालमा पछिल्लो समय सवारी साधन आयात उच्चदरले बढेको छ । यो वृद्धिदर हेर्दा नेपालको अटो व्यवसाय सुध्रिँदै गएको मान्न सकिन्छ ।
भन्सार विभागले सोमबार जारी गरेको गाडी आयात तथ्यांक हेर्दा अटो व्यवसायमा उल्लेख्य सुधार भएको मान्नुपर्ने हुन्छ ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा गत आव सोही अवधिको दाँजोमा गाडी आयात ३२ प्रतिशतले बढेको छ ।
चालु आव पहिलो ६ महिनामा ४७ अर्ब ९७ करोड रुपैयाँ बराबरको गाडी आयात भएको भन्सार विभागले जनाएको छ । गत आव पहिलो ६ महिनामा ३६ अर्ब ३२ करोड बराबरको मात्र गाडी आयात भएको थियो ।
आव २०७९/८० मा गाडी आयात ५० प्रतिशतले घटेको थियो । त्यसअघि २०७८/७९ मा १ खर्ब २३ अर्बको आयात भएको थियो । २०७९/८० मा ६१ अर्ब ८० करोडको मात्रै आयात भएको थियो ।
त्यसपछि गत आव २०८०/८१ मा त्यसअघिको वर्षका तुलनामा गाडी आयात केही बढ्यो । त्यो वर्ष अघिल्लो वर्षको तुलनामा गाडी आयात २६ प्रतिशतले बढेर ७८ अर्ब पुगेको थियो ।
तर, २०७८/७९ मा भएको १ खर्ब २३ अर्बको आयात पुग्न भने अझै पनि कठिन देखिन्छ ।