काठमाडौँ । अखिल क्रान्तिकारीको नेतृत्वका दाबेदारहरूसँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेग्लाबेग्लै छलफल गरेका छन् । अध्यक्षको दाबेदारहरूलाई खुमलटार बोलाएर ‘प्रचण्ड’ले छलफल गरेका हुन् ।
नेतृत्व चयनका लागि अहिले अनलाइनमार्फत उम्मेदवारी दर्ता चलिरहेको छ । अहिलेसम्म अध्यक्ष र महासचिवमा कसैको उम्मेदवारी परेको छैन । उम्मेदवारी दर्ताको लागि साँझ ६ बजेसम्मको समय दिइएको छ ।
नेतृत्वले सर्वसम्मतको प्रयास पनि जारी राखेको छ । ‘प्रचण्ड’ले नेतृत्वका आकांक्षीहरू विराज थापा, सुदिन पौडेल, उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राईलगायतलाई खुमलटारमा बोलाएर छलफल गरेका हुन् ।
सर्वसम्मत नभए पवन कार्की समूहले पनि बेग्लै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू भएपछि यसअघिका आकांक्षी सबै नेतृत्वको दौडबाट बाहिरिएका छन् । उनीहरूलाई पार्टीभित्र व्यवस्थापन गर्नेबारे छलफल भइरहेको छ ।