काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले खानेपानी समस्याका विषयमा ‘ड्रामा’ गरेको आरोप लगाएका छन्। शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले भने, ‘म सक्षम छु रे, किन गर्नुभएन? किन खानेपानी मन्त्रालय गुहार माग्न आउनुभयो ? सक्षम छु भने गर्नुपर्थ्यो नि। त्यसकारण ड्रामा गर्नु अलग कुरा हो।’
मन्त्री यादवले भएको संस्थानलाई ‘हाइज्याक’ गरेर काम गर्नु गलत भएको भन्दै धरानका जनतालाई पानी खुवाउने जिम्मेवारी संघीय सरकारको भएको स्पष्ट पारे। उनले संघीय सरकारले खानेपानीको समस्या समाधान गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
‘धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम भएको मन्त्री यादवको आशय थियो ।
धरानको खानेपानी आयोजना निर्माणका लागि बजेट माग्दै केही दिनअघि मेयर साम्पाङ थोत्रो गाग्री बोकेर काठमाडौँ आएका थिए। सोही गाग्री बोकेर उनी मन्त्री यादवसँग भेट्न सिंहदरवार प्रस्थान गरेका थिए। तर, सिंहदरबारको गेटमा प्रहरीले उक्त गाग्री भित्र लैजान नदिएर खोसेको थियो।