काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ ।
‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज सो सुरुङ मार्गको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम भएकामा स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल माध्यममार्फत उनले सो कार्यक्रममा सरिक भएका थिए ।
प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरुङ मार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीहरूलाई राहत दिन सो सुरुङमार्ग एक सफल आयोजना साबित हुने विश्वास व्यक्त गरे । उनले सो सुरुङ मार्गबाट लाभ लिइ राजमार्गको सहज आवागमन, सामाजिक एवं आर्थिक सम्बन्ध विस्तार र उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।
यसअघि त्रिभुवन राजपथअन्तर्गतको थानकोट- नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिरहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताए ।
“सुरुङमार्ग ब्रेक थ्रू हुनु सिङ्गै देशका लागि खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । “मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको समयमा हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ देश । फाइदा हुने कामकुराहरूमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरू सदैव यसैतर्फ केन्द्रित छन् ।”
कार्यक्रम स्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।
यस्तो छ सम्बोधनको पूर्णपाठः
सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रू’ कार्यक्रमका सभापति महोदय, उपप्रधानमन्त्रीज्यूहरू, मुख्यमन्त्रीज्यू, नेपालका लागि चिनियाँ राजदूत, नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू !
आज खुसीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ब्रेक थ्रू गर्न सफल भएका छौँ । केही वर्ष अगाडि म बुटवल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरूले गीत गाउनुभएको थियो, ‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड रु’ भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेकौँ वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुःखदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे । त्यो गीत त्यसै कारण उब्जिएको थियो,‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड’ भन्ने गीत । त्यो जनताको आवाज गीतका रूपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउँथे अथवा आफ्नै भाषामा त्यो भन्थे ।
आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङका रूपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभई कन बन्यो । सफलतापूर्वक बन्यो । म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरू भन्दै थिए । तर हुन्छ, हुँदो रहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरुलाई बधाई भन्न चाहन्छु र सबैलाई शुभकामना भन्न चाहन्छु । बधाई यस कारण कि तपाईँहरू त्यस पीडाबाट तपाईँहरू मुक्त हुनुभएको छ, शुभकामना यस कारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईँहरूको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्द व्यापारदेखि लिएर अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडबाडदेखि लिएर सबै कुराहरूको आदानप्रदान गर्न सक्नुहुन्छ । आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुर्याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरू गर्न सक्नुहुन्छ । अब तपाईँहरू एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थ्रू भइसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमी रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालीगण्डकी कोरिडोरसँग यो बाटो पर गएर जोडिन्छ । जसबाट सडकको एउटा सञ्जालका रूपमा यसले काम गरेको छ । यसका निम्ति यसमा सहयोगकर्ताहरूलाई, दाताहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु । छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकामा ठेकेदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु । यसको मुख्य चुनौतीको पाटो सुरुङमार्ग थियो, त्यो छिचोलिएको छ ।
मैले धेरै अगाडि, जतिबेला नागढुंगा-नौबिसे सुरुङ खण्डको शिलान्यास गर्दै थिएँ, त्यस बेला मैले भनेको अब नेपालमा टनेल युगको प्रारम्भ भयो अथवा हामी नेपालीहरू अब टनेल युगमा प्रवेश गरेका छौँ । अब बिस्तारै बिस्तारै दुर्गम कच्ची पहाडहरू चढ्दै, पहिरो जाने पहाडहरू चढ्दै गाडीहरू घुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनुपर्ने छैन । धेरै हामी त्यस्ता बाटाहरूलाई छोटा बाटाका रूपमा सुरुङ मार्गबाट वल्लोबेँसीबाट पल्लोबँसी र अझ वल्लोबेँसी निकाल्दै सहज ढङ्गले छोटो बाटोबाट टाढाको दुर्गम सहज नहुने गन्तव्यहरू छोटो मार्गबाट पुग्न सक्छौँ र त्यो हामी प्राप्त गर्न सक्छौँ । पहाडका लागि त्यसबाट सम्पर्क बाटाहरू निर्माण गरेर हामी ती कामहरू गर्न सक्छौँ । हामी त्यहाँ लिंक रोडहरू बनाउँछौँ, रिभर करिडोरहरु बनाउँछौँ । नेपालका सबै जिल्लामा अहिले गाडी पुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झैँ रहेन तर यसलाई अझ सुगम बनाउँदै लानेछौँ । विभिन्न खालका सञ्जालका बाटाहरू, सुरुङमार्गहरु, झोलुंगे पुलहरू, पुलहरू, हवाई यातायात, हवाईमार्गहरु, मैदानलगायतका अनेक केबलकारहरूजस्ता कुराहरूबाट हामी अनेक ठाउँहरूलाई सुगम र रमाइला ठाउँहरू र विकसित ठाउँका रूपमा परिणत गर्नेछौँ । त्यस कारण अब नेपाल बिस्तारै दुर्गमबाट सुगम रूपमा, पिछडिएका देशबाट अगाडि बढेको देशका रूपमा, अल्पविकसित देशबाट विकासिल देशका रूपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुदैछ भन्ने यी कुराहरूले देखाएका छन् ।
म दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, यो खुसी तपाईँ हामीको खुसीको हो । यो सिङ्गै देशको खुसी हो । यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरूको ठूलो खुसी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यो यस बाटोबाट सजिलैसँग बुटवल अथवा बुटवलबाट पूर्व–पश्चिम जानुपर्दछ, त्यो सजिलो हुन्छ । त्यस कारण यो सुरुङ मार्गको विशेष महत्त्व छ र यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट घटित भएको र पहिलो पल्ट प्राप्त भएको सफलताको कुरा हो । त्यस कारण म सबैमा खुसी व्यक्त गर्न चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । जसले यसमा काम गर्नुभएको छ, कामदारहरूलाई, मजदुरहरूलाई, इञ्जिनियरहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छु । स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झक्याउने काम, हामी सबैलाई झक्झक्याउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरिलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरूबाट, उपलब्धिहरूबाट जोडिँदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुपर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुरु भएका कामहरू अगाडि बढेका छन् । अहिले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रूपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरूमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौँ हाम्रो देश, अरूले बनाउने होइन, हामीले आफैँ बनाउँछौँ, हामी अरूको पनि सहयोग लिन सक्छौँ, अरूको लगानी आमन्त्रण गर्न सक्छौँ, अरूको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरूका लोनहरू पनि आवश्यकताअनुसार स्वीकार गर्न सक्छौँ । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोतसाधन छन्, हाम्रा प्रयासहरू र हाम्रा मित्रहरूका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्नेछौँ । म सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद तथा शुभकामना ।