काठमाडौँ। आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सुधिर राज शाहीका अनुसार पक्राउ पर्नेहरूमा पर्वतको बिदाहा गाउँपालिका-३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका-४ का २२ वर्षीय परिन पाण्डे छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको एसपी शाहीले बताए ।
उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’ बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्डमा पहुँच पुर्याई करको दर हेरफेर गरेको एसपी शाहीले बताए ।