काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको वर्तमान कार्यकालमा आफू कुनै पनि शर्तमा सरकारमा नजाने दोहोर्याएका छन् । यो पाँच वर्षमा प्रधानमन्त्री नै पाए पनि नखाने उनको अडान छ ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक समापन पश्चात् बोल्दै लिङदेनले यस्तो उद्घोष गरेका हुन् ।
उनले भने, ‘मैले पहिल्यै घोषणा गरिसकेको छु कि यो पाँच वर्ष म चाहिँ सरकारमा जान्न । साथीहरू जान सक्लान् तर म जान्न । पार्टीले निर्णय गर्यो भने जाने भन्ने ठाउँ पनि राख्दिन । म कुनै पनि हालतमा मन्त्री बन्दिनँ । प्रधानमन्त्री पाए त खाने होला भन्ने कुरा आउला । म यो पाँच वर्ष प्रधानमन्त्री नै पाए पनि खान्न । हुन त १४ सिट भएको दललाई प्रधानमन्त्रीको अवसर पनि नआउला । तर, कथंकदाचित त्यस्तो अवसर आयो भने पनि म हुन्न ।’
लिङदेनले अर्को चुनाव आफू गठबन्धनबिना लडेर जितेर देखाउने दाबी गरे । ‘झापा जिल्लाको मेरो निर्वाचन क्षेत्रमा म होस, अर्कोलाई उठाएर होस कुनै पार्टीसँग नमिलीकन चुनाव जितेर आउने छौँ । यो रेकर्डमा रहोस् ।’
राप्रपाभित्र आफ्नो कुनै पनि पक्ष नरहेको स्पष्ट पारे ।
उनले भने, ‘पार्टीमा मेरो कुनै पक्ष छैन । अध्यक्षको कुनै पक्ष हुँदैन ।’ आफूले मनोनीत गरेका व्यक्तिहरू ठिक नरहेको भन्ने असन्तुष्टि आएको सन्दर्भमा उनले पूर्वअध्यक्षज्यूहरुसँग पदाधिकारीहरूसँग छलफल गरेर सच्याउन सक्ने बताए ।
‘आवश्यक पर्यो भने मैले गरेको मनोनयनहरू फिर्ता लिएर देखाउँछु’, लिङ्देनले भने ।
चुनावको बेला पनि काठमाडौँमा उपरखुट्टी लगाएर बस्नेहरूले पार्टी सकियो भनेर चिन्ता लिन नसुहाउने उनले बताए ।