काठमाडौँ । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जोशीपुर-१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आसिक चौधरी रहेका छन् ।
उनीहरू चार जनाले किशोरीमाथि २२ मंसिरमा सामूहिक बलात्कार गरे पनि ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । उनीहरूविरूद्ध जबरजस्ती करणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।