काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पर्सागढी नगरपालिका-३ घर भएका काठमाडौँ महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका-१ घर भएका काठमाडौँ महानगरपालिका-८ बस्ने ३० वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रुपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
उनीहरू सम्पर्कविहीन भएपछि पीडितहरूको दिएको उक्त उजुरीको आधारमा प्रहरीले शारदालाई काठमाडौँ टेकुबाट आइतबार र रविनलाई काठमाडौँ कालो पुलबाट शुक्रबार पक्राउ गरेको हो ।
शारदालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । छ ।