काठमाडौँ। लोक सेवा आयोगले उपसचिव पदको लिखित परीक्षामा अनुचित कार्य गरेको ठहर गर्दै एक उम्मेदवारको सबै परीक्षा रद्द गरेको छ। साथै, उनलाई यस आर्थिक वर्षका सबै विज्ञापनअन्तर्गतका परीक्षामा सहभागी हुनबाट रोक लगाइएको छ।
आयोगले मिति २०८९ माघ ८ गते सञ्चालन गरेको उपसचिव वा सो सरह (अप्राविधिक) पदको प्रथम पत्र (संयुक्त) को लिखित परीक्षामा विदुर नगरपालिका-३, नुवाकोट घर भई हाल बानेश्वर, काठमाडौँमा बस्दै आएका सुरज अर्यालले अनुचित कार्य गरेको भन्दै परीक्षा रद्द गरेको हो ।
लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) बमोजिमको कसुर गरेको भन्दै आयोगको मिति २०८१ माघ १५ गतेको निर्णयले अर्यालको परीक्षा रद्द गरेको हो। साथै, उनलाई यस आर्थिक वर्षभित्र सञ्चालन हुने आयोगका अन्य कुनै पनि परीक्षामा सहभागी हुनबाट वञ्चित गरिएको छ।
आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईका अनुसार, एउटा उत्तर पुस्तिका झुक्किएर घर लिएर गएको र पछि बुझाउन आउँदा थाहा भएपछि सबै परीक्षा रद्द गरिएको हो।
पछिल्लो समय आयोगको निष्पक्षता यसको सबैभन्दा बलियो पक्षका रूपमा स्थापित हुँदै आएको छ। यद्यपि, कतिपय अवस्थामा आयोगबाट समेत केही कमीकमजोरी हुने गरेका छन्। तर, आयोगले आफ्नो प्रणालीबाट ट्रयाकिङ गरी तत्काल सुधार गर्दै आएको छ।