बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी बजेटदेखि टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताएका छन् ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगन्जमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरूमा बजेट केन्द्रित गर्ने बताए ।
मुख्यमन्त्री आचार्यले भने, “योजनाहरू छरेर होइन, परिणाममुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ, यसमा पार्टीको पनि ध्यान जान आवश्यक छ ।” उनले मझौला र ठुला योजना कार्यान्वयनमा सरकारले ध्यान दिने बताए ।
आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताए । योजना छनौटमा देखिएको विकृति रोक्नकै लागि पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको बताउँदै उनले हरेक खाले विकृतिहरू रोक्न सरकार निर्मम भएर अगाडि बढ्ने दाबी गरे ।
बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजनाबारे जानकारी गराएका थिए सरकारले अघि सारेका गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनलाई अघि बढाएको उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले आफू सरकारको नेतृत्वमा पुगेपछि प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावी योजनासहितका विषयहरू समेटिएको प्रतिवेदन पार्टीका प्रदेश इन्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई बुझाएका थिए।
बुधबार नै अर्घाखाँची सम्पर्क मञ्च बाँकेले नेपालगन्जमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासनलाई पहिलो प्राथमिकता दिएको बताए ।