निश्चित स्रोत र साधनको प्रयोग गरेर तोकिएका लक्ष्य तथा उद्देश्यको तोकिएको समय भित्र प्राप्त गर्ने व्यवस्थित कार्य आयोजना व्यवस्थापन हो । आयोजना व्यवस्थापन एउटा सिलसिलेवार कार्य हो जसमा सबै चरणको प्रभावकारी व्यवस्थापन गरेमा मात्र लक्ष्य पुरा हुने गर्दछ ।नेपालमा करिब ८६ प्रतिशत आयोजना समयमा तोकिएअनुसारको बजेट र समयमा सम्पादन हुँदैनन् । आयोजना व्यवस्थापनका सम्बन्धमा विभिन्न देशले विभिन्न ढाँचा तथा मोडलहरू कार्यान्वयनमा ल्याएको पाइन्छ भने त्यसको प्रभाव पनि नेपालमा परेकै छ, राष्ट्रिय योजना आयोगले आयोजना चक्र निर्धारण गरेको छ तथापि हाम्रो प्रभावकारिता र नतिजा भने सन्तोषजनक देखिँदैन। हाल सञ्चालनमा रहेका २१ वटा राष्ट्रिय गौरवका आयोजना, १८ वटा रूपान्तरणकारी आयोजना र सानिसाका ९ वटा आयोजनाको प्रगति समेत राम्रो देखिँदैन।
राष्ट्रिय योजना आयोगमा मात्र सूचीकृत भएका आयोजना १८०१७ रहेका छन् भने ७७०६ वटा आयोजनाहरू सञ्चालनमा रहेको देखिन्छ ।करिव ५० प्रतिशत भन्दा कम आयोजना सञ्चालनमा रहेको भए पनि अधिकांश आयोजना कुनै न कुनै रूपमा समस्यामा रहेका छन् । नेपालमा हाल तीन तहबाट आयोजना छनोट र सञ्चालन हुने गरेको भएपनी कार्य सम्पन्न भई हस्तान्तरण हुने आयोजनाको संख्या निकै कम रहेको देखिन्छ। धेरै आयोजनाहरू सम्पन्न भई नसकेको तर हाल बजेट समेत विनियोजन नहुने गरेकोले लगानी नै बालुवाको पानी जस्तै भएको समेत देखिन्छ।
स्रोत साधनको सही व्यवस्थापन, समय तालिका, प्रयाप्त बजेट, जोखिम मूल्याङ्कन, र गुणस्तर नियन्त्रण गर्न मुख्य जिम्मेवारी आयोजना व्यवस्थापनमा पर्ने भए पनि त्यस तर्फ प्रयाप्त ध्यान पुगेको छैन। आर्थिक विकास, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र विकास, जनशक्तिको सीप र दक्षता वृद्धि, अन्तर्राष्ट्रिय सम्बन्धलाई सबल बनाउन, समग्र जनताको जीवनस्तर सुधार गर्न, दिगो विकासको बाटोमा अगाडि बढ्न र क्षेत्रीय असमानता न्यूनीकरणमा योगदान गर्नमा आयोजना सञ्चालनको आवश्यकता परेको हुन्छ ।
अन्तराष्ट्रिय तथा राष्ट्रिय अभ्यास
भारतमा रहेको आगरा-लखनउ एक्सप्रेस सडक समयमै सम्पन्न भएको भारतको एक प्रमुख पूर्वाधार परियोजना हो, जसले निर्माण कार्यमा नयाँ कीर्तिमान स्थापित गरेको छ।यो एक्सप्रेसवे २२ महिनामा मात्र निर्माण सम्पन्न गरिएको यो सडक ३०२ किलोमिटर लामो छ जसको कारण करिब ६/७ घण्टा लाग्ने यात्रा अवधि ३/४ घण्टामा झरेको छ । परियोजनाको निर्माणका लागि करिब १३,००० करोड भारतीय रुपैयाँ खर्च भएको थियो।यसलाई ६ लेनबाट ८ लेनमा विस्तार गर्न सकिने गरी निर्माण गरिएको हो । निर्माण व्यवसायी, सरकारी निकायहरू र निजी क्षेत्रबीच बलियो समन्वयले सहज कार्यान्वयन भएको भनिन्छ ।पाइप-ओवर-ड्रेन र फ्लाईओभर सहित उत्कृष्ट गुणस्तर मात्र होइन गति मापन र अनुगमन गर्ने गरी क्यामेरा समेत जडान गरिएको छ ।केही स्थानमा लडाकु विमान अवतरण गर्न सक्ने व्यवस्था समेत गरिएको छ। सडकको चौडाइ, स्पष्ट मार्किङ र रात्रिकालीन यात्रा सुरक्षित बनाउन पर्याप्त प्रकाशको व्यवस्था गरिएको छ। तोकिएको बजेट र समय भित्र सम्पन्न गरेर उत्तर प्रदेशको अर्थतन्त्रमा मात्र नभई पूर्वाधार विकास, रोजगारी सिर्जना, सडक सुरक्षा, पर्यावरणीय सन्तुलन तथा सामाजिक रूपमा समेत एउटा अनुकरणीय र सफल आयोजना रूपमा लिन सकिन्छ। सार्वजनिक र निजी क्षेत्रको समन्वय र सहकार्यमा भएको सफलताको समेत उदाहरण हो यो परियोजना । बजेट विनियोजन, जग्गा प्राप्ति, साइट क्लियर, प्रविधिको प्रयोग,निर्माण सामाग्रीको उपलब्धता र अन्य आवश्यक व्यवस्थापनको सन्दर्भमा यस आयोजनालाई अनुकरणीय मानिन्छ । आगरा-लखनउ एक्सप्रेसवे परियोजना भारतको एक महत्त्वपूर्ण र माइल स्टोन परियोजना हो जसको लागत, समय र सफलताको कारण यसले यातायात, व्यापार र सामाजिक आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याएको छ।
बुर्जखलिफापरियोजना सफल र अनुकरणीय परियोजना हो, जसले विश्वव्यापी परियोजना व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।करिब १.५ अर्ब अमेरिकी डलरमा ६ वर्षमा सम्पन्न गरिएको थियो । यस परियोजनामा संसारभरका इन्जिनियर, कामदार र विज्ञहरूको सहभागिता थियो। भवनको उचाइ, समयको दबाब, तथा स्रोतहरूको उचित व्यवस्थापन गर्नुपर्दा धेरै जटिलता भए पनि, बलियो नेतृत्व, नवीन प्रविधिहरू, र उचित परियोजना व्यवस्थापनका कारण यस परियोजनाले विश्वव्यापी सफलताको मानक स्थापित गर्यो । उचाइ, लगानी, र डिजाइनका दृष्टिले यो परियोजनाले विश्वलाई “असम्भव केही छैन” भन्ने सन्देश दियो। दुबईको पहिचानको प्रतीक बन्यो। बुर्ज खलिफा परियोजना मानव इच्छाशक्ति, प्रविधि, र समर्पणको अद्भुत नमुना हो। यो एउटा भवन मात्र नभएर सफल र प्रेरणादायी आयोजनाका रूपमा संसारभरि चिनिन्छ ।
दिल्ली मेट्रो रेल परियोजना १९९८ मा सुरु भएको महत्त्वपूर्ण आयोजना हो । करिब ३ अर्ब अमेरिकी डलरबाट सुरु गरिएको यो आयोजना एउटा नमुना आयोजना हो । दिल्ली मेट्रो रेल निगम र विभिन्न निजी निर्माण व्यवसायी बीचको सहकार्यले प्रभावकारी परियोजना कार्यान्वयनमा आयोजना सञ्चालन भएको हो । प्रारम्भिक चरणहरू निर्धारित समय भन्दा अघि सम्पन्न गरिए, जसले सहरको सार्वजनिक यातायात प्रणालीलाई महत्त्वपूर्ण रूपमा सुधार गर्यो । प्रभावकारी परियोजना व्यवस्थापनको सफल नमुनाको रूपमा मेट्रो रेल परियोजनालाई लिने गरिन्छ । दिल्ली मेट्रो परियोजना योजनाबद्ध कार्यान्वयन, समयमा सम्पन्न र दीर्घकालीन सोचको उत्कृष्ट उदाहरण हो ।दिल्ली मेट्रोले अन्य सहरमा समेत मेट्रो निर्माणमा प्रेरणा दिएको छ।सार्वजनिक र निजी साझेदारी मोडेलको प्रभावकारी प्रयोगको रूपमा यस परियोजनालाई लिइएको छ। केन्द्र सरकार, प्रदेश सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य र समन्वयले सफलताको आधार तयार गरेको छ । स्वचालित टिकटिङ प्रणाली , वातानुकूलित र भूकम्प प्रतिरोधी संरचनाको व्यवस्थापन गरिएको छ। यो परियोजना विभिन्न चरणमा निर्माण गरिएको हो। सन् १९९८ मा सुरु भई सन् २००६ मा पहिलो चरण सम्पन्न भएको हो । सन् २००६ मा सुरु भई सन् २०११ मा दोस्रो चरण सम्पन्न भएको हो । तेस्रो चरण सन् २०११ मा सुरु भई सन् २०१९ मा सम्पन्न भएको हो भने चौथो चरणको काम हाल निर्माण भइरहेको छ र २०२६ सम्म पूरा हुने अपेक्षा गरिएको छ।पर्यावरणमैत्री र प्रभावकारी, ट्राफिक समस्या समाधान गर्ने र धेरै क्षमता भएको परियोजनाको रूपमा यसलाई निकै महत्त्वपूर्ण मानिएको छ भने समय र बजेटभित्र सम्पन्न हुने परियोजनाको उत्कृष्ट उदाहरण पनि हो ।
नेपालमा आयोजना व्यवस्थापनमा भोग्नुपरेका मूलभूत समस्याहरू
· प्रयाप्त तयारी नगरी आयोजना छनोट हुनु,
· साइट क्लियर नहुँदै ठेक्का लगाउनको हतारो,
· आयोजना स्थलमा रूख काट्न तथा बिद्युत् तार र अन्य सामाग्री हटाउन भएको ढिलाइ,
· निर्माण सामाग्री उपलब्धतामा कठिनाई रहेको तथा आपूर्तिमा समय समयमा भएका अवरोध,
· आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण समयमा गर्न नसकिनु,
· स्थानीय जग्गाधनीहरूसँग सहमति गर्न नसक्नु,
· खल्तीबाट परियोजना र सञ्चालनको मोडल झिक्ने प्रवृत्ति: जस्तै बुढी गण्डकी आयोजना,
· परियोजनालाई राजनीति¸ प्रशासन¸ निजी क्षेत्र सवैबाट आर्थिक लाभको स्रोतका रूपमा दुरुपयोग हुनु,
· आयोजना छनोटमा उच्च चाँसो भए पनि कार्यान्वयनमा न्यून चाँसो हुनु,
· सरोकारवाला नागरिकको सहभागिता र अपनत्व देखिँदैन,
· प्रक्रिया मुखी वातावरणीय प्रभाव मूल्याङ्कन,
· सार्वजनिक खरिदका छिद्रहरूलाई दुरुपयोग गर्ने प्रवृत्ति रहिरहनु,
· राजनीतिक अन्तरविरोध,
· ओभर साइट एजेन्सीहरूबाट हुने अनुगमन देखावटी र औपचारिकतामा मात्र सीमित रहेको
· माग अनुसार मुआब्जा व्यवस्थापन गर्न कठिनाई,
· कानुनी विवाद सुल्झाउन लामो समय लाग्नु,
· व्यावसायिकता र निष्ठाको अभाव तथा गैर नैतिक स्वार्थमा केन्द्रित रहँदा कार्यान्वयन कमजोर हुनु,
· प्रयाप्त बजेट रकम समयमा उपलब्ध नहुने तथा बजेट विनियोजन र काम बिचमा तालमेलको अभाव कायमै,
· निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न नसक्नु तथा कामको कमजोर गुणस्तर,
· क्षमता विना नै काम लिन खोज्ने र समयमा पुरा गर्न नसक्ने परिपाटी,
· भूगर्भीय जोखिम, भूस्खलन, र जलवायु परिवर्तनले आयोजना सम्पन्न गर्न समस्या पर्ने गरेको,
· आयोजना प्रतिको सर्व स्वीकार्यता नहुनु,
· आयोजना प्रमुख र कर्मचारीको अस्थिर र अनियमित सरुवा,
· आयोजना क्षेत्रको सामाजिक सांस्कृतिक र पर्यावरणीय क्षेत्रको बेवास्ता,
· संगठनात्मक सक्षमतामा प्रश्न उठ्ने गरेको,
· ठेक्कामा मिलेमतो, न्यून रकम कबोल तथा भेरिएसन गराउने प्रवृत्ति हट्न नसक्नु,
· स्थानीयद्वारा रेखाङकनको विरोध तथा विवाद,
· निर्माण व्यवसायीको कमजोर व्यवस्थापकीय एवं प्राविधिक क्षमता,
· काम सम्पन्न भए पश्चात् समेत बजेटका लागि अर्थ मन्त्रालय धाउनु पर्ने बाध्यता,
· अन्तरिम आदेश तथा निर्णय प्रक्रियामा ढिलाइ,
· कार्यसम्पादनको समयसापेक्ष कार्यतालिका नहुनु,
· कार्य प्रगतिको सूचक सहितको मापन प्रणाली नहुनु,
· आयोजना कार्यान्वयनको सुधारात्मक सुपरिवेक्षणको अभाव,
नेपालमा आयोजना व्यवस्थापन सधैको समस्याका रूपमा रहेको छ । कुनै एक आयाम वा क्षेत्रमा मात्र सुधार गरेर आयोजना व्यवस्थापनमा सफलता प्राप्त गर्नु सकिँदैन तसर्थ समग्र कानुनी, नीतिगत, प्रशासनिक, प्राविधिक, प्रक्रियागत तथा व्यवहारगत क्षेत्रमा सुधार गर्न सकेमा मात्र सफलता प्राप्त हुन्छ । नेपालमा आयोजना समयमा सुरु गर्ने र सम्पन्न गर्ने प्रतिशत निकै कम छ । माथि उल्लेख गरिएका अन्तराष्ट्रिय असल अभ्यास र सफलता लाई नेपालको सन्दर्भमा समेत उपयोगी हुने भएकोले आयोजनाको वैज्ञानिक व्यवस्थापन जरुरी रहन्छ । नतिजा खाकामा आधारित अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गर्दै चरणबद्ध रूपमा सम्पादन गर्ने गरी राजनीतिक नेतृत्व प्रशासनिक नेतृत्व निजी क्षेत्र र अन्य सरोकारवालाको साझा सङ्कल्प र दृढता हुनु जरुरी रहन्छ ।