काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ ।
केवलकार निर्माणको क्रममा भएको विवादलाई संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सरकारले आन्दोलनरतसँग साँझ ५ बजे वार्ता गर्ने गृह मन्त्रालयले जनाएको छ ।
यस्तै सरकार र मुक्कुमलुङ संरक्षक संस्थाहरू तथा संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको छ ।
यसअघि सरकारले केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
के थियो घटना ?
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडपको क्रममा गोली चलेको थियो । गोली लागेर आन्दोलनरत समूहका दुईसहित पाँच र सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएका थिए ।
यता आन्दोलनरत समूहले कोशीका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा यातायात बन्द गराएका छन् । आज सोमबारसम्म पनि माग सम्बोधन नभएर मंगलबार (भोलि) देखि नौ वटै जिल्लामा आम हडतालको घोषणा गरेका छन् ।