परिचय
क्यान्सर नसर्ने रोगहरू मध्येको भयावह रोग हो । यो रोग प्रत्यक्ष देखिने कुनै लक्ष्यण नदेखिईकन भित्र भित्रै उब्जने हुन्छ । यो एउटा गम्भीर रोग हो, जसले शरीरका विभिन्न भागमा असर गर्न सक्छ । यसको उपचार जति सक्दो चाँडै गरियो त्यत्ति नै चाँडै निको हुने सम्भावना हुन्छ। तर लामो समय केही गरिएन भने यसले मृत्यु निम्त्याउन सक्छ। क्यान्सर लागेका धेरैजसो मानिसहरू मध्ये, विशेष गरी स्वास्थ्य स्याहार कम पाउनेहरूको मृत्यु हुन्छ।
सबै जीवित प्राणीहरू जस्तै मानिसको शरीर स-साना कोषिकाहरू मिलेर बनेको हुन्छ। यी कोषिकाहरूलाई माइक्रोस्कोपले (शुक्ष्मदर्षक यन्त्र) मात्र हेर्न सकिन्छ। कहिलेकाहीँ यी कोषिकाहरू परिवर्तन हुन्छन् र असामान्य रूपमा बढ्दै जान्छन्, जसले गर्दा मासु पलाउँछ अर्थात् ट्युमर पलाउँछ। कुनै-कुनै ट्युमर उपचारविना नै आफै बिलाएर जान्छ भने कुनै-कुनै चाहिँ धेरै ठूलो भएर वा फैलिएर स्वास्थ्य समस्या बन्न पुग्छ। कुनै ट्युमर बढेर क्यान्सर हुन्छ भने कुनै चाहिँ हुँदैन।
जब कुनै कोष नियन्त्रण गर्नै नसक्ने गरी बढेर शरीरको भागमा ठाउँ ओगट्न थाल्छ, त्यतिखेर क्यान्सर सुरु भयो भन्न सकिन्छ। क्यान्सर चाँडै पत्ता लागेको खण्डमा त्यसलाई शल्यक्रिया गरेर हटाउन सकिन्छ । किमो औषधी दिएर वा रेडिएसनद्वारा उपचार गर्न सकिन्छ। यसरी क्यान्सर निको गर्ने सम्भावना धेरै हुन्छ। तर क्यान्सर फैलिसकेको छ भने निको पार्न धेरै गाह्रो हुन्छ र पछि असम्भव नै हुन्छ।
महिलाहरूलाई प्राय गर्भाशय, स्तन र पाठेघरको क्यान्सर हुन्छ। पुरुष र महिला दुवैलाई लाग्ने सामान्य क्यान्सर चाहिँ फोक्सो, आन्द्रा, कलेजो, पेट, मुख र छालाको हो।
क्यान्सरबाट बर्सेनी विश्वमा करिब ८० लाख जनाको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले बताएका छन्। अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनअनुसार सन् २०३० सम्ममा विश्वभर २३ करोड ६० लाख व्यक्ति क्यान्सरबाट पीडित हुनेछन् जुन संख्या प्रत्येक तीन व्यक्तिमध्ये एक जना क्यान्सरको बिरामी हुन आउँछ। त्यसैले सबैले क्यान्सरसम्बन्धी जान्न अत्यन्त आवश्यक छ।
प्राकृतिक नियमअनुसार शरीरमा अर्बौँ संख्यामा कोषिकाहरु बन्ने र बिग्रने क्रम चलिरहेको हुन्छ। यसै क्रममा विभिन्न प्रकारका वातावरणीय विकारको असरले प्राकृतिक नियम तोडिन पुग्छ। सामान्य भाषामा भन्दा कोषिकाहरु नियन्त्रण बाहिर पुगेर बढ्न थालेको अवस्थालाई क्यान्सर भन्न सकिन्छ।
क्यान्सरले गर्दा अर्कै प्रकारका कोषिकाहरु बन्ने क्रम सुरु हुन्छ। क्यान्सर लागेपछि कोषिका बढाउने तत्त्वले कुनै नियम मान्दैन र आफ्नै सुरले बढ्दै जान्छ। तर मानव शरीरबाट आफूलाई चाहिने सबै तत्त्वहरू भने खपत गर्दै जान्छ।
किन हुन्छ क्यान्सर ?
क्यान्सर हुने खास कारण पत्ता लागेको छैन। तैपनि ५० प्रतिशत जति क्यान्सर खानाको कारणले लाग्ने गर्छ। यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु, पोलेको मासु आदि खाएर मोटाएर तथा धूमपान, मदिरा सेवन आदिको कारणले लाग्ने गर्छ। चुरोटले मात्र पनि करिब ३५ प्रतिशत क्यान्सर हुने जोखिम हुन्छ।
अन्य कारणमा एचआइभी/एड्स, हेपाटाइटिस बी, एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्। विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने, रंग्याउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरको प्रमुख कारक तत्त्व मानिन्छ।
अमेरिकी क्यान्सर सोसाइटीले लामो अध्ययनपछि क्यान्सरका लक्षण प्रकाशित गरेको छ। यीमध्ये कुनै पनि लक्षण देखापरेमा क्यान्सर भएको हुन सक्छ:
· खाना अपच वा निल्न गाह्रो भएमा,
· स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा,
· निको नहुने गरी खोकी वा स्वर धोक्रो भएमा,
· कोठीको आकार बढेर ठूलो हुँदै गएमा,
· निको नहुने घाउ भएमा,
· घाउबाट अत्यधिक रक्तस्राव या पिप आएमा,
· दिसा वा पिसाबको तालिका फेरिएमा,
· कुनै घाउ खटिरा विना शरीर चिलाएमा,
· शरीरको कुनै ठाउँमा निरन्तर दुखाइ भएमा,
· लामो समयसम्म निरन्तर ज्वरो आएमा,
· निरन्तर दुब्लाउँदै गएमा,
· जतिबेला पनि थकान र कमजोर महसुस गर्नु,
· तनाव हुनु र दिसा पिसाबको रङ्ग परिवर्तन भइरहनु,
क्यान्सर रोकथाम कसरी गर्ने ?
क्यान्सर रोगको औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ।
१) यदि घरमा कसैलाई क्यान्सर भएको छ भने क्यान्सर हुने जोखिम बढी हुन्छ त्यसैले नियमित जाँच गर्नुपर्छ ।
२) नियमित रूपमा मेमेग्राम गर्नुपर्छ । मेमेग्रामले स्तन क्यान्सर भएको थाहा हुन्छ ।
३) अन्य अंगको पनि नियमित जाँच गर्नुपर्छ ।
४) शरीरमा अनावश्यक गाठागुठी आएमा, बढेमा, रंग परिवर्तन भएमा जँचाई हाल्नुपर्छ ।
५) पेनकिलरको प्रयोग धेरै नगर्ने
६) स्वास्थ्य जीवनशैली अपनाउने
७) शारीरिक व्यायाम, योगा, ध्यान गर्ने
८) क्यान्सर गराउने कारक तत्त्वहरूबाट बच्ने
क्यान्सर उपचार विधि
क्यान्सरको उपचार प्रायः तीन प्रकारका विधि प्रयोग गरेर गर्ने गरिन्छ।
· रेडियोथेरापी (विकिरणद्वारा)
· केमोथेरापी (औषधि प्रयोग गरेर
· रोगको प्रकृति अनुसार हार्मोन र बायोलोजिकल प्रडक्टअनुसार पनि क्यान्सरको उपचार गर्न सकिन्छ।
क्यान्सर गम्भीर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागे पनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिई हाल्नु हुँदैन तर नियमित रूपमा जाँच र चिकित्सकको परामर्श भने लिनु पर्छ ।
मेरो अनुभव
म मेरो अनुभव तिर जान्छु । २०६९ सालमा मेरो बाबालाई बिना कारण नै शरीर चिलाउने समस्या हुन सुरु भयो । शरीरमा कुनै घाउ खटिरा बिबिरा केही थिएन तर शरीर एकदमसँग चिलाउने भयो । अर्घाखाँचीको स्वास्थ्य संस्थामा काम गर्ने उहाँले कहिले एलर्जीको औषधी खाने, कहिले निम त कहिले तीतेपातीको पानीले नुहाउने गरेर १ महिना जति व्यतित गर्नु भयो । तर समस्या कम हुनुको साटो झन् बढ्दै गयो । पछि काठमाडौँ शिक्षण अस्पतालमा गएर जाँच गराउँदा ड्युडेनममा क्यान्सर भएको पत्ता लाग्यो । तत् पश्चात् नेपाल क्यान्सर अस्पताल, महाराजगन्ज शिक्षण अस्पतालमा शल्यक्रिया र उपचार गर्दा गर्दै २०७५ असार १७ गते ५४ वर्षको उमेरमा परमधाम हुनुभयो ।
अर्घाखाँचीका डा. चित्र प्रसाद वाग्ले पनि क्यान्सर बाटै परमधाम भए । हाम्रो कार्यालयका अग्रज सहकर्मी पराग प्रसाद चौधरी सरको पनि मल्टिपल माइलोमा क्यान्सरको कारण मृत्यु भयो । विगत तीन वर्ष देखी मेरो सासुआमालाई ओभरियन क्यान्सर प्रमाणित भयो । लामो समयको किमोथेरापी र शल्यक्रिया पश्चात् निको भए जस्तै भयो । तर पुन ६ महिना जति भयो पुनः उहाँलाई स्तन क्यान्सर भएर वि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ ।
क्यान्सर आफैमा घातक रोग हो । यो रोग लागिसकेपछि बिरामीलाई त गारो हुने नै भयो । तर परिवार सबै अप्ठ्यारोमा पर्ने हुँदो रहेछ । बाबाको क्यान्सर उपचारमा करिव पाँच वर्ष सम्मको अनुभवले अहिले सासुआमाको क्यान्सर उपचारमा धैर्यता मिलेको छ । क्यान्सर उपचारमा बिरामीको आत्मबल र सुसारेको उत्प्रेरणाले लामो समय बचाउन सकिन्छ । नियमित र निरन्तर किमोथेरापी र शल्यक्रिया पश्चात् सासुआमाको अवस्थामा सुधार आएको छ । ३० भन्दा बढी पटक किमोथेरापी गरिसकियो भने शल्यक्रिया पनि भइसक्यो ।
अहिलेको व्यस्त समय दिनभरी नदौडी बिहान साँझ चुल्हो नबल्ने अवस्थामा लामो समय बिरामीलाई अस्पतालमै राखेर उपचार गर्न निकै अप्ठ्यारो हुने रहेछ । एउटा बिरामीको साथमा दुई जना कुरुवा साथमा हुनुपर्यो । भगवानको कृपा अहिले आमाको स्वास्थ्य अवस्थामा सुधार भएको छ । लामो समय बिदा नपाइने स्थानीय तहको काम, त्यसमाथि साना नानीहरू । ससुरा बुवाको केयरमा आमाको उपचार भइरहेको छ । क्यान्सर रोग परिवारमा एक जनालाई लागे पनि त्यसले धेरै जनालाई आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा असर गर्ने रहेछ ।
अतः यो मेरो परिवारमा आएको समस्या मात्र होइन, यो त उदाहरण मात्र हो । जसको घरमा पनि यस्तो समस्या आउन सक्छ । क्यान्सर र यस्तै प्रकृतिका जघन्य रोगको सिकार हुन सकिन्छ । अहिले व्यस्त जीवनशैलीबाट आफ्नो शरीरलाई कम्तिमा दिनमा एक घण्टा समय निकालेर योग साधनामा लगाऊँ । बजारिया तारे भुटेको भन्दा साधारण खानपानमा जोड दिउँ । शरीरको तौल नियन्त्रण गरौँ । नसर्ने रोग शरीरमा प्रवेश गर्न नदिउँ । क्यान्सर दिवस फेवरुवरी ४ को अवसरमा कसैले पनि क्यान्सरको कारण अकालमा ज्यान गुमाउनु नपरोस् शुभकामना ।