काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित दर्जन नेता कार्यकर्ता पार्टी त्यागेर नेकपा एमालेमा फर्किएका छन्।
एमाले सिन्धुलीको तीन महिने वडा केन्द्रित अभियान अभिमुखीकरण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन र बागमती प्रदेश सदस्य गीता कटुवाललगायत नेताहरू टीका र खादा लगाएर नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।
एमाले बागमती प्रदेश कमिटीद्वारा तीन महिने वडा केन्द्रित अभियानको सन्दर्भमा सिन्धुली आइपुगेका एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका केन्द्रीय सदस्य शान्ता पाख्रिन, बागमती प्रदेश सदस्य गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य एवं भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र माया देवी थापा, विजिता कटुवाल बार एसोसिएसन सदस्य र रुक्मणी थापा एमाले फर्किएका छन् ।
नवप्रवेसी नेताहरुले नेकपा एस पार्टीको औचित्य सकिएको र एमालेको विकल्प नरहेको निष्कर्षसहित पुरानो घरमै फर्किएको बताएका छन् ।
उनीहरूलाई एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेलसहित सिन्धुली जिल्ला इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य मनोज जंग थापा, केन्द्रीय सदस्यहरू गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देवकोटा नेताहरुले स्वागत गरेका थिए ।