काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालले अध्यादेशबारे जनता समाजवादी पार्टी नेपालसँग कुरा भइराखेको बताएका छन् ।
आगामी बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले ल्याएका ६ वटा अध्यादेश निर्णयार्थ पेस हुँदैछ । एकीकृत समाजवादी, नेकपा माओवादीसहित विपक्षमा रहेका दलका सांसदले अध्यादेश अस्वीकृत गर्ने सूचना संसद सचिवालयलाई दिएका छन् । तर, जनता समाजवादी पार्टी नेपालले यो विषयमा निर्णय लिएको छैन ।
राष्ट्रिय सभामा रहेको अंकगणित समेतका आधारमा विपक्षी दलहरूले जसपा नेपालसँग कुरा गरिराखेको भुसालले जानकारी दिए ।
जसपा नेपालले अध्यादेशबारे निर्णय लिन कार्यदल गठन गरेको छ । राजकिशोर यादवको नेतृत्वमा गठित कार्यदलको बैठक मंगलबार सिंहदरवारमा बसेको थियो । मंगलबार विज्ञहरूसँग छलफल गरेको कार्यदलको बैठक बुधबार पनि बस्दै छ ।
नेताहरूका अनुसार जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान बोलाएको छ । संसदीय दलको बैठकबाटै अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ ।