काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले न्यायाधीश नियुक्ति, सरुवा बढुवाको विषयमा विभिन्न टीकाटिप्पणी हुने गरेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले अदालत सक्षम र न्याय निष्पक्ष हुनुपर्ने धारणा राखे ।
‘न्यायाधीशको नियुक्ति, सरुवा-बढुवामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ भन्नु अपराध हो ? दलीय प्रभावमा न्यायालयलाई राख्न हुँदैन भन्नु अपराध हो ? होइन भने म माथि अदालतको अपहेलना मुद्दा कसरी दर्ता भयो ? म सरकारको जवाफ चाहन्छु,’ उनले भने ।
उनले आफूमाथि अदालतको अपहेलना मुद्दा परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । ‘अदालत सक्षम हुनुपर्छ, न्याय निष्पक्ष हुनुपर्छ, न्यायालयमा सुधार हुनुपर्छ भन्नु गलत हो ? सरकारलाई सोध्न चाहन्छु- न्यायालयबाट विकृति विसंगति हटाउनुपर्छ भन्नु गलत हो ?’ उनले भने ।
पूर्व मन्त्रीसमेत रहेका साहले न्यायालयमा राजनीतिक प्रभाव रह्यो भन्ने कतिपय अवस्थामा महसुस हुने गरेको बताए ।