काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।
अखिल क्रान्तिकारीको २३औँ सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शनिबार काठमाडौँमा शपथ गराउँदै ‘प्रचण्ड’ले यो सम्मेलनले विद्यार्थी नहुने तर, विद्यार्थी नेता भइरहने अभ्यासको अन्त्य भएको बताएका थिए ।
यसक्रममा ‘प्रचण्ड’ले मञ्चमा रहेका देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने लगायतका पूर्व अध्यक्षहरूको नामै लिएका थिए । ‘अध्यक्षले विद्यार्थी नहुने तर विद्यार्थी नेता बनाउनुपर्ने बाध्यतामा हामीसँग विगतमा थियो भन्नुभयो’ नेता न्यौपाने भने, ‘त्यसको जवाफ मैले मञ्चबाटै दिन पाइनँ र तथ्य सामाजिक सञ्जालमा राखेको हुँ ।’
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका न्यौपाने आइतबार बिहान फेसबुकमा एक स्ट्याटस लेख्दै ‘प्रचण्ड’ले भनेको भन्दा तथ्य फरक रहेको जिकिर गरेका छन् । न्यौपानेले युद्धको समयमा को अध्यक्ष बन्ने नबन्ने कुरा ‘प्रचण्डले निर्णय गर्ने गरेको पनि बताएका छन् ।
