काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महानन्द जोशी धरौटीमा छुटेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनामा पक्राउ परेका जोशी जिल्ला अदालत काठमाडौँले मागेको एक लाख रुपैयाँ धरौटी तिरेपश्चात रिहा भएका हुन् ।
गत माघ २ गते सहकारी ठगीको मुद्दामा रास्वपा सभापति रवि लामिछाने विरुद्ध बहस गरेर फर्किने क्रममा अदालतबाहिर त्रिपाठीमाथि हुलहुज्जत र हातपात भएको थियो । जैसी सहित सो प्रकरणमा पक्राउ परेका तीनजनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा दायर गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनैजनालाई एक-एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि दोलखाको तामाकोसी गाउँपालिका-१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका थिए । तर, महानन्द भने एक लाख धरौटी तिर्न नसक्दा सुन्धारास्थिति जगन्नाथ देवल कारागारमै थुनिएका थिए ।