काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा ‘प्रचण्ड’ले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत रहेको बताएका हुन् ।
‘अहिलेसम्मको अवस्था हेर्दा सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा पारित हुने देखिएको छैन,’ उनले भने ‘सरकारमा रहेकाहरूमा दुई तिहाइको अहंकार थियो । राष्ट्रिय सभामा त्यसको राम्रो जवाफ दिएको छ ।’
सदनलाई अवमूल्यन गर्ने र अध्यादेशबाट शासन चलाउने गलत बाटो सरकारले रोजेको भन्दै ‘प्रचण्ड’ले बहुमतले पेलेर जान सक्ने अवस्था नरहेको जिकिर गरे । माओवादीले अध्यादेशमा नसघाउने स्पष्ट पार्दै उनले अध्यादेशको भविष्य जसपा नेपालको निर्णयमा भर पर्ने बताए ।
पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले वर्तमान सरकारले देशलाई झन् ठूलो आर्थिक संकटतिर धकेलेको दाबी गएका छन् ।